वीरगन्ज,३०असाेज: वीरगन्जमा पहिलाे पटक आयोजित “वीरगन्ज बक्स क्रिकेट लिग” को उपाधि गणपति निर्माण सेवाले उचालेको छ ।
सोमबार बेलुकी भएकाे फाइनल खेलमा सेवन डिस्ट्रोयर्सलाई १२ रनले हराउँदै गणपति निर्माण सेवाले उपाधि उचालेको हो ।
५७ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको सेवन डिस्ट्रोयर्सले ८ ओभरमा पाँच विकेट गुमाएर केवल ४४ रन मात्रै बनाएपछि खेल जित्दै गणपति निर्माण सेवाले उपाधि जितेकाे हाे ।
सेवन डिस्ट्रोयर्सका लागि तर्फबाट ब्याटिङ गर्न उत्रेका सुमित कादमियाले १५ रन जोडे । त्यस्तै राजन केयालले १३ रन, अतुल राउतले ४, नितिन अग्रवालले ४, अङ्कित खेतानले ३ र राहुल केयालले १ रनको योगदान दिए ।
बलिङतर्फ गणपति निर्माण सेवाका राहुल शाह, सोनु गुप्ता र सन्तोष शाहले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गणपति निर्माण सेवाले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ५६ रन बनाएकाे थियाे ।उसका लागि
सन्तोष साहले सर्वाधिक ३३ रन जोडे । यस्तै सन्देश गुप्ताले १० रन, मुकेश गुप्ताले ५, राकेश कलवारले ३ र राहुल शाहले २ रनको योगदान गरे ।
बलिङतर्फ सेवन डिस्ट्रोयर्सको रौनक केयाल र सुमित कादमियाले १/१ विकेट लिए ।
लिग विजेता गणपति निर्माण सेवाले उपाधिसंगै नगद ४० हजार रुपैयाँ र उपविजेता सेवन डिस्ट्राेयर्सले नगद २० हजार रुपैयाँ प्राप्त गर्याे । विजेता र उपविजेता टिमका खेलाडीहरूलाई जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पुरस्कार बराबरको चेक र ट्रफी हस्तान्तरण गरे ।
पूर्व वन तथा वातावरण मन्त्री यादवले खेलकुद सम्बन्धी गतिविधिलाई बढावा दिने उद्देश्यका साथ स्पोर्ट्स हाउस नेपालले आयोजना गरेको वीरगन्ज बक्स क्रिकेट लिग जस्ता प्रतियोगिताहरूलाई निरन्तर जारी राख्न आग्रह गरे । उनले वीरगन्जमा खेलकुदलाई प्रवर्द्धन गर्न तिनै तहको सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगिताको समापन कार्यक्रममा बाेल्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज महानगरपालिकाले खेलकुद विकासलाई विशेष प्राथमिकता दिएको बताए । विभिन्न प्रतियोगिता आयोजनादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागी हुने खेलाडीहरूको तालिम, पोषण लगायतका लागि पनि महानगरपालिकाले बजेट व्यवस्थापन गरेको उनले बताए । संघीय सरकारको उदासीनताका कारण वीरगन्जस्थित नारायणी रङ्गशालाको पुनर्निर्माण नहुन सकेको भन्दै उनले दुःख व्यक्त गरे ।
आयाेजक स्पोर्ट्स हाउस नेपालकी सह-सञ्चालक आकृति अग्रवालकाे अध्यक्षतामा भएकाे समापन कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, जगदम्बा सिमेन्ट्सका निर्देशक राजेश अग्रवाल, वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष सुशीलकुमार कानु, वीरगन्ज उद्योग वाणिज्य संघका दुतिय उपाध्यक्ष माधव राजपाल, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश स्टार्टअप एन्ड इनोभेसन समितिका सदस्य अनुप अग्रवाललगायतको सहभागिता थियो ।
वीरगन्ज बक्स क्रिकेट लिगमा कुल १६ वटा टिमले सहभागिता जनाएका थिए । सम्पूर्ण खेलहरू वीरगन्जस्थित वर्ल्ड अफ वन्डर्समा भएका थिए ।

