वीरगन्ज,२९असाेज: भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दुई हारपछि पहिलाे जित हात पारेकाे छ ।
लखनउमा साेमबार भएकाे आफ्नो तेस्राे खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै पहिलो जित हात पारेको हाे । जितको लागि २ सय १० रनको मध्यम विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ग्लेन म्याक्सवेल २१ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे ।
मार्कस स्टोइनिस १० बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।अष्ट्रेलियाको जितमा जोश इंग्लिसले ५९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । मिचेल मार्श ५१ बलमा ९ चौका ५२ रनमा आउट भए । ओपनर डेविड वार्नर ११ रनमा एलबीडब्लू आउट भए ।मार्नस लाबुसेन ६० बलमा २ चौकासहित ४० रनमा आउट भए ।
श्रीलंकाका दिलशान मदुशानकाले ९ ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । दुनिथ वेलालागेले एक विकेट लिए ।
त्ययस टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४३.३ ओभरमा २ सय ९ रनमा अल आउट भएको थियो । श्रीलंकाका ओपनर कुशल परेराले ८२ बलमा १२ चौकासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै पाथुम निसांका ६७ बलमा ८ चौकासहित ६१ रनमा आउट भए ।
अष्ट्रेलियाको सानदार जितमा एडम जाम्पाले ८ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ४ विकेट लिए । कप्तान प्याट कमिन्सले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।ग्लेन म्याक्सवेलले १ विकेट लिए ।
अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको थियो । अष्ट्रेलियाले अब शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।
श्रीलंकाको भने यो लगातार तेस्रो हार हो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ र दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकाले अव शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
श्रीलंकालाई सेमिफाइनलमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । सुरुवाती तीन खेलमा अपराजित रहँदै भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा छन् ।
प्रतियोगितामा मंगलबारकाे खेल दक्षिण अफ्रिका र नेदरल्यान्डबिच हुनेछ ।

