Madhes Khabar
धर्म/संस्कृति स्वास्थ्य हेडलाइन

सिर्सिया नदी प्रदुषण गर्ने उद्योगहरु सील गर्ने वीरगन्ज महानगरको निर्णय

वीरगन्ज, २९ असोज : आउँदो तिहार तथा छठ पर्व अगाडी नै सिर्सिया नदी प्रदुषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गर्ने निर्णय वीरगन्ज महानगरपालिकाले गरेको छ ।

वीरगन्ज महानगरपालिकामा सोमबार उद्योगी व्यवसायी, जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि बीच बसेको बैठकले उद्योगहरुबाट निस्कने रसायनयुक्त लेदो र पानी तथा फोहोरवस्तु प्रशोधन गरेर मात्रै नदीमा फाल्नुपर्ने र त्यसो गरेको नपाए सम्बन्धित उद्योगमा सील गरी नियम बमोजिम जरिबाना तिराउने निर्णय गरेको हो ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नदी प्रदुषण नगरे उद्योगमा सिलबन्दी गरेर कारबाही गर्ने निर्णय भएको बताए । यस्तो निर्णय भएपछि बैठकमा सहभागी उद्योगीहरुले सिर्सिया नदीमा भइरहेको प्रदुषण नियन्त्रणका लागि आवश्यक काम गर्न आफुहरु पनि तयार रहेको आश्वासन दिए ।

यसअघि सोमबारै बिहान महानगरपालिकाका मेयर सिंहको नेतृत्वको टोलीले सिर्सिया नदी प्रदुषणमा गर्नेमध्येका ६ वटा उद्योगहरुको स्थलगत अनुगमन गरेको थियो ।

विगतमा बारम्बार अनुगमन हुँदा समेत उद्योगीहरुले नदी प्रदुषण गर्ननछाडे पछि सोमबार बिहान मेयर सिंह आफै अनुगमनमा निस्किएका थिए । अनुगमनपछि सोमबार दिउँसो मेयर सिंहले नदी प्रदुषण गराउने उद्योगका संचालकहरुलाई महानगरपालिका कार्याालयमा बोलाएर नदी प्रदुषण रोक्न चेतावनीसहितको निर्देशन दिए ।

बैठकले वीरगंज महानगरभित्र सन्चालित हरेक उद्योगले ६/६ महिनामा स्व–अनुगमन मुल्यांकन प्रतिबेदन महानगरमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ ।

यस्तै उद्योगीहरुले सिर्सिया नदीमा प्रदुषण गर्न नरोके वीरगन्ज महानगरपालिका र वातावरण संरक्षण ऐन २०७७ तथा वातावरण नियमावलीले तोके बमोजिमको कारबाही प्रकृया अघि बढाउने निर्णयपनि बैठकमा भएको मेयर सिंहले जानकारी गराए ।

बैठकमा मेयर सिंहले वीरगन्जकै लाइफलाइनको रुपमा रहेको सिर्सिया नदी प्रदुषण उद्योगीहरुले गरिरहेको भन्दै अब प्रदुषण गरेको भेटिए ठाउँको ठाउँ कारबाही गर्ने गरि संयन्त्र तयार पार्ने पनि बताए ।

बैठकमा सिर्सिया नदी प्रदुषण गर्ने उद्योगमध्येका श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्सका संचालकले आफूहरु उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउन तयार रहेको बताए । महानगरले नदी प्रदुषण नियन्त्रणका लागि गरिरहेको काम सह्रानीय रहेको भन्दै उद्योगीहरुले आफूहरु पनि उद्योगमा पानी प्रशोधन केन्द्र राख्न र बोरिङबाट सफा पानी नदीमा हाल्ने व्यवस्था मिलाउन तयार रहेको बताए ।

बंठकमा अरनिको प्रोसेसिङ उद्योगका सोचन प्रसाद यादव, ग्लोबल लेदरका सरोज चौरसिया, सिद्धि टेक्सटायल्स र न्यु पशुपति इण्डस्टिजका अशोक मित्तल, मरियम लेदरका बालमुकुन्द चौधरी, पाना पेपर्स वकर्सका सुभाष पटेल लगायतको सहभागिता रहेको थियो ।महानगरपालिकाले यसअघि सिर्सिया नदी प्रदुषण गरेका ५ वटा उद्योगलाई गत चैत दोश्रो साता ३÷३ लाख रुपैयाँ जरिबाना गरेको थियो ।

बाराको रामवनबाट सुरु भई पर्साको वीरगन्ज महानगर हुदैं सीमावर्ती भारतको रक्सौल सम्म बगेकाो सिर्सिया नदी विगत तीन दशकदेखि प्रदुषण र अतिक्रमणको चपेटामा पर्दै आएको छ । नदीलाई प्रदुषाणमुक्त गर्न माग गर्दै वातवरण र पर्यावरणप्रेमी तथा सामाजिक अभियन्ताहरुले विगत एक दशकदेखि दबाबमुलक कार्यक्रम गर्दै आइरहेको भएपनि नदीको प्रदुषण हाल सम्म रोकिएको छैन ।

 

Related posts

हिन्दुहरुकाे महान् चाड दसैं सुरु,आज नवरात्राकाे पहिलाे दिन

MadhesKhabar

घडिअर्वा छठघाटको सुरक्षामा कुनैपनि त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरुको प्रतिबद्धता

MadhesKhabar

सेवा प्रभावित भएपछि रिक्त दरबन्दीमा जनशक्ति थप्दै नारायणी अस्पताल

MadhesKhabar

Leave a Comment