वीरगन्ज,२६असोजःपर्सा जिल्लामा आइतबारदेखि सुरु हैजाव्रिद्धको खोप अभियान वीरगन्ज महानगरपालिकामापनि सुरु भएको छ ।
आइतबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदी आँफैले खोप खाएर खोप अभियानको सुभारम्भ गरेका थिए।त्यसलगत्तै आइतबार नै वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले महानगरपालिकाको कार्यालयमै एक कार्यक्रम गरेर यो खोप अभियानको सुरुवात गरेको हो ।
कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम,प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण लगायतलाई खोप खुवाएर वीरगन्ज महानगरमा खोप अभियान कार्यक्रमको सुरुवात गरिएको स्वास्थ्य शाखाका प्रमुख राजु साहले जानकारी दिए ।
महानगरपालिाकामापनि आइतबारदेखि सुरु गरिएको हैजा विरुद्धको खोप अभियानको सुभारम्भ गर्दै मेयर सिंहले हैजाबाट पर्सा जिल्लामा सबैभन्दा बढी प्रभावित भएकाले यो खोप महानगरका सबै मानिसले अनिवार्य रुपमा खानुपर्ने सुझाए ।विश्व स्वास्थ्य संगठनले प्रमाणीकरण गरेको खोप भएकाले यसबारेमा कसैलेपनि कुनै किसिमको शंका नगरेर ढुक्क भई सेवन गर्नुपर्नेमा उनले जोड दिए ।
स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार, अभियानको पहिलो दिन महानगरपालिका कार्यालयमै स्थापना गरिएको खोप केन्द्रमा मेयर, उपमेयरसहित जनप्रतिनिधी र कर्मचारी गरी २ सय बढी मानिसलाई हैजाविरुद्धको खोप खुवाइएको छ ।
हैजाविरुद्धको खोप अभियान आइतबारदेखि पर्साका सबै पालिकामा सञ्चालन गरिएको भन्दै उनले यो अभियान अन्तर्गत महानगरका ३२ वटै वडामा गरी २ लाख ५२ हजार जनालाई हैजाविरुको खोप खुवाउने लक्ष्य रहेको जानकारी दिए ।

