Madhes Khabar
अर्थतन्‍त्र

सिमरा सेजमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्छ: मन्त्री रिजाल

बारा,२८असाेज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिमरा सेज (विशेष आर्थिक क्षेत्र)मा उपलब्ध हुने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

सिमरा सेजसँग सम्बन्धित विषयमा जनप्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक अगुवा एवं स्थानीयसँग शनिबार सिमरामा भएको छलफलमा मन्त्री रिजालले सेजभित्र बारा, पर्सा जिल्लावासीलाई रोजगारीमा पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । उनले सेजभित्र कुनै प्रकारको विरोध तथा आन्दोलन नगर्न सुझाव दिँदै सेजमा आउने उद्योगी व्यवसायीलाई सुविधा उपलब्ध गराइने बताए ।

त्यसअवसरमा बारा निर्वाचन क्षेत्र नं ४ का सांसद किसान श्रेष्ठले सेजभित्रको जग्गा उद्योगीलाई निःशुल्क उपलब्ध गराउनुपर्ने धारणा राखे। ‘सेजभित्र उद्योगीले रोकेर राखेको जग्गा पनि फिर्ता हुने अवस्था आएको छ, त्यसैले जग्गाको भाडा निःशुल्क र उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थालाई ३० प्रतिशतमा झार्नुपर्छ’, उनले भने।

जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले सेजसम्मको पहुँचका लागि पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज–डाइपोर्ट सडकसँग जोड्ने छ लेनको सडकलाई जोडेर कम्तीमा ४० मिटर चौडाइको फराकिलो बनाउनुपर्नेमा जोड दिए।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रमेशप्रसाद निरौला, सेजका कार्यकारी निर्देशक चण्डिका भट्ट, जीतपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेल, वडाअध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिसहित स्थानीयको सहभागिता थियो ।

हाल सेजको ‘ए ब्लक’को तीन सय ४३ बिघामध्ये एक सय ६० बिघा रहेका ६८ वटा प्लटमा नौवटा प्लटबाहेकका जग्गा उद्योगीले ‘बुक’ गरेका छन् । सेजभित्र जग्गा भाडामा लिन चाहने उद्योगीले प्रतिवर्गमिटर २० का दरले तिर्नुपर्दछ ।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

एभरेष्ट र नविल बैंकमा ग्राहकको खाताबाटै रकम चोरी

MadhesKhabar

वीरगन्ज महानगरपालिकाद्वारा आठ महिनामा साढे ३३ कराेड राजश्व संकलन

MadhesKhabar

एकै दिन तोलामा १४ सय रुपैयाले बढ्यो सुनको मुल्य

MadhesKhabar

Leave a Comment