Madhes Khabar
अर्थतन्‍त्र

एभरेष्ट र नविल बैंकमा ग्राहकको खाताबाटै रकम चोरी

काठमाडौं, ६ जेष्ठ : सुनसरीको इटहरीस्थित एभरेष्ट बैंकको शाखाबाट वचतकर्ताले जम्मा गरेको डेढ करोड रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको हो ।

३३ जना वचतकर्ताको खाताबाट रकम चोरी भएपछि अनुसन्धानका लागि एभरेष्ट बैंक इटहरी शाखाका प्रबन्धकसहित अहिलेसम्म ९ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी राजकुमार राईका अनुसार चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरुमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे–८ घर भएका विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर–८ का निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर धावा लामा, बैंकका कनिष्ठ सहायक मनोज घिमिरे, देवराज शर्मा, रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर पवित्रा कटुवाल रहेका छन् ।

त्यस्तै धनुषाको मिथिला नगरपालिका–११ का शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका– २ का अजय खिउजू पनि पक्राउ परेका छन् । पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख भन्दा धेरै रकम चोरी भएको र उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको उहाँको भनाइ छ । उनीहरुमाथि बैँकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।

यस्तै सुनसरीकै्र धरानमा रहेको नविल बैंकबाट पनि ग्राहकको खाताबाट रकम चोरी गरिएको छ। नविल बैंकको धरान शाखामा रहेको सारदा राई र श्याम थुलुङको खातामा भएको रकम हराएको हो।

नविल बैंक धरान शाखाबाट आफ्नो ६६ हजार ३ सय ५० रुपैयाँ नगद हराएको धरान १३ की सारदा राईले बताएकि छन्। उनले आफ्नो खाताबाट पटक पटक गरी अन्य बैंकको खातामा रकम ट्रान्सफर गरि आफ्नो पैसा चोरी गरिएको बताएकी हुन्। उनले बैंकबाट रकम चोरी भएपछि रकम चोरी गर्नेहरुलाई पक्राउ गरि कारबाहि र आफ्नो चोरी भएको पैसा फिर्ताको माग राखेर इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको बताइन्।

त्यस्तै धरानका श्याम थुलुङले पनि नविल बैंकमा रहेको आफ्नो खाताबाट ८० हजार रुपैयाँ चोरी भएको बताएका छन्। उनले बैंकबाट गत बैशाख ३१ गते उक्त रकम चोरी भएको बताए। रकम चोरी भएपछि उनले पनि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन्। दुबै जनालाई अपरिचित व्यक्तिले बैंकबाट फोन गरेको भन्दै खाता नम्बर मागेर बैंक खाता ह्याक गरि रकम चोरी गरेको पीडितहरुले बताएका छन्।

नविल बैंक धरानका प्रबन्धक उज्वल भण्डारीले बैंकका ग्राहकहरुलाई ह्याकरले बैंक कर्मचारी बनेर फोन गरि खाता नम्बर र पासवर्ड मागेर मोबाइल बैंकिङमार्फत रकम ठगि गरेको पाइएको बताए।

उनले ग्राहकहरुको रकम ह्याक गरि ठगि गर्नेलाई पत्ता लगाउन बैंकको केन्द्रिय कार्यालयमार्फत पहल भइरहेको बताए। इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले नविल बैंकबाट ग्राहकको रकम हराएको विषयमा अनुसन्धान भइरहेको बताए।

Related posts

चाडपर्बलाई लक्षित गरी वीरगन्जमा बजार अनुगमन तिब्र बनाउने निर्णय

MadhesKhabar

सरकार विरुद्ध वीरगन्जका उद्योगी व्यपारी सडक आन्दोलनामा

MadhesKhabar

नेपालमा भारुकाे भाउ घट्नुकाे कारण हुन्डी, तस्करी कि भारतीय पर्यटक ?

MadhesKhabar

Leave a Comment