वीरगन्ज, २३ असोज: विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा मंगलबार वीरगन्जमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा वीरगन्ज महानगरपालिका र वीरगन्ज नर्सिङ्ग क्याम्पसको सयुक्त आयोजनामा घण्टाघर चोकमा मानसिक स्वास्थ्य सम्बन्धमा तयार पारिएको सडक नाटक सहित सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय मानसिक स्वास्थ्यका बिरामीहरु बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल कुमार यादवले मानसिक स्वास्थ्यका बारेमा जनचेतना अभिबृद्धी गर्नुपर्नेमा जोड दिए ।उनले मानसिक स्वास्थ्यलाई नजरअन्दाज नगर्न आग्रह गर्दै जति सक्दो आफूलाई व्यस्त राख्नुपर्ने सुझाव दिए ।
वीरगन्ज नर्सिङ्ग क्याम्पसकी प्रमुख डा. कल्पना पौडेलले मानसिक स्वास्थ्यका बारेमा सचेतना फैलाउने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको बताए । हरेक व्यक्ति मानसिक रुपमा स्वस्थ हुनुपर्ने आवश्यक्ता औँल्याउँदै उनले सामाजिक सञ्जाल, बेरोजगारी, प्रेम, कुलत लगायतका कारण मानसिक स्वास्थ्य बिग्रिन सक्ने तर्क गरे।
‘मानसिक स्वास्थ्य: सबैको अधिकार’ भन्ने नारासहित मनाईएको विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वीरगन्ज नर्सिङ्ग क्याम्पसमा अध्ययनरत छात्रा–छात्रहरुले सन्देशमुलक नाटक पनि प्रस्तुत गरेका थिए ।
घण्टाघरमा भएको कार्यक्रममा दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल, नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की इन्चार्ज हेमा थापा, वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रामप्रकाश साह, डा. अनुप कृष्ण गुप्ता, डा. नीतु बस्नेत, वीरगन्ज महानगरका मेयरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको उपस्थिती रहेको जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहले जानकारी दिए ।

