Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

जिउतिया पर्व आजदेखि विधिवत रुपमा सुरु

वीरगन्ज,१८असाेज: सन्तानको दीर्घायु , पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जिउतिया पर्व आजदेखि धार्मिक विधि पूर्वक सुरु भएको छ ।

नेपालकाे तराई मधेस तथा र भारतको मिथिला क्षेत्रकै पवित्र ‘जिउतिया पर्व’ नहाए खाए (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो ।

व्रत बस्नुअघि आजको दिन व्रतालु महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतालुले व्रत सम्पन्न गर्नेछन् ।

 

यस पर्वमा व्रतालुले पवित्र पाृखरी वा नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ ।

देवतालाई चढाएकै तेलमध्येबाट आ-आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

त्यसैगरी धार्मिक विधिपूर्वक शुक्रबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ । जिउतिया व्रतलाई पवित्र व्रतको रुपमा मानिन्छ ।

उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खर जिउतिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रतालु आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।

जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन । तर पुत्र हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ ।

Related posts

सिम्रौनगढमा पोखरी खन्ने क्रममा भेटियो सूर्य भगवानको मूर्ति

MadhesKhabar

पोखरियामा शीव मन्दिरको प्राणप्रतिष्ठाका लागि निकालिएको शोभा यात्रामा हजारौंको सहभागिता

MadhesKhabar

कक्षा १२ को नतिजा प्रकाशित

MadhesKhabar

Leave a Comment