Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जको बाल सुधार गृहमा तनाव जारी : अहिलेसम्म पनि प्रहरी भित्र छिर्न सकेन

वीरगन्ज ,२७भदाैं: वीरगन्जको वीर्तास्थित बाल सुधार गृहको अवस्था हिजो रातीदेखि हालसम्म पनि तनावपूर्ण रहेको छ। हिजो रातीदेखि अहिलेसम्म सुधार गृहभित्र प्रहरी जान सकेका छैनन्।

सुधारगृह भित्रबाट बाहिर रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार भइ नै रहेको प्रहरीले जनाएको छ। केहीबेर अगाडि प्रहरीले केही सेल अश्रु ग्याँस प्रहार गरेको थियो।

सुधार गृहमा रहेका बालकबीच झडप हुँदा ११ जना बालक तथा उनीहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी घाइते भएका थिए।

वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल सुधार गृहबाट ल्याइएका १८ जना र यहाँ पहिलेदेखि बस्दै आएका बालकहरुबीच मंगलबार राति विवाद भइ झडप हुँदा सुधारगृह रातीदेखि नै तनावग्रस्त छ।

झडपमा भक्तपुरबाट ल्याइएका मध्ये १० समेत गरी ११ जना बालक र तीन जना प्रहरी घाइते भएका पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन्। घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराइ जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको उनले बताए।

प्रहरी उपरीक्षक शाहका अनुसार भक्तपुरको बाल सुधार गृहमा भदौ ४ मा जेल फुटाएर विरोध गर्दै निस्किएका मध्ये १८ जना बालकहरुलाई वीरगन्जको बालसुधार गृहमा ल्याएर राखिएको थियो। यहाँ पहिलेदेखि १३१ जना बालक थिए। सुधार गृहमा अहिले कूल १४९ जना बालकहरु रहेका गृह प्रमुख टिका काफ्लेले जानकारी दिए।

भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरेर कुटपिट गरेपछि त्यही विषयमा विवाद भइ झडप भएको हो। त्यस क्रममा उनीहरुले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको थियो। तर सुधार गृह भित्रबाट बालकहरुले ढुङ्गामुढा गरेर प्रहरीलाई अबेर रातिसम्म पनि सुधार गृह भित्र छिर्न दिएनन्। त्यसै क्रममा ढुङ्गाले लागेर तीन जना प्रहरी पनि घाइते भएका प्रहरी उपरीक्षक शाहले बताए। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड अश्रु ग्याँस पनि प्रहार गरेका थिए।

अहिलेसम्म पनि प्रहरीलाई सुधार गृहभित्र रहेका बालकहरुले प्रवेश गर्न नदिएको त्यहाँ खटिएका पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए। उनले भने, ‘मंगलबार रातिको भन्दा अहिले स्थिति केही सामान्य छ तर भित्र उनीहरुले अहिले पनि होहल्ला गरि नै रहेका छन्।’

बाल सुधार गृहका प्रमुख टिका काफ्लेका अनुसार एक महिना पहिले भक्तपुरको बाल सुधार गृहमा उत्पात मच्चाएकामध्ये १८ जना बालकलाई वीरगञ्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियो। तर उनीहरुले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए। त्यहीं विषयलाई लिएर उनीहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि सुधार गृह तनावग्रस्त बनेको प्रहरी उपरीक्षक शाहले बताए।

सुधार गृहमा मंगलबार रातिदेखि प्रदर्शन गरिरहेका बालकहरुले भने सुधारगृहमा आफूहरुलाई खाना राम्रो नदिएको , घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको , एउटै कोठामा धेरै जनालाई कोचेर राखिएको , शौचालय पनि राम्रो नभएको , सुधार गृह प्रमुखले यातना दिंदै आएको जस्ता आरोप पनि लगाएका छन्।

Related posts

मधेस सरकारले पहिलो पटक मनायो संविधान दिवस

MadhesKhabar

पर्साका ६२ मतदानस्थल ‘अति संवेदनशील’ सूचीमा

MadhesKhabar

वीरगन्ज : मनोज ग्यासको सिलबन्दी सिलिण्डरमै भेटियो ४ किलो कम ग्यास

MadhesKhabar

Leave a Comment