
रौतहट,६फाल्गुनः मधेस प्रदेशका आठ जिल्लामा तोकिएका २ हजार १ सय ६० मतदानस्थल मध्ये १ हजार २ सय ३६ मतदानस्थल अति संवेदनशील मानिएको छ ।
भारतसँग ३ सय ६७ किलोमिटर सिमाना रहेको मधेशका आठ जिल्लामा ४ हजार ४ सय ७१ मतदान केन्द्र र २ हजार १ सय ६० मतदानस्थल छन् । ती मतदानस्थलमध्ये झन्डै ५८ प्रतिशत अर्थात् १ हजार २ सय ३६ मतदानस्थललाई अति संवेदनशील मानिएको हो । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले ७ सय ६३ लाई संवेदनशील र २ हजार ४ सय ७१ वटालाई सामान्य वर्गीकरण गरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
सबैभन्दा बढी सप्तरीका मतदान केन्द्रहरू अति संवेदनशील सूचीमा राखिएको छ । सप्तरीका २ सय ९, सिरहाका १ सय ५४, धनुषाका १ सय ९४, महोत्तरीका १ सय ६३, सर्लाहीका १ सय ५८, रौतहटका १ सय ५२, बाराका १ सय ४५ र पर्साका ६२ मतदानस्थल अति संवेदनशील सूचीमा रहेको कार्यालयले जनाएको छ । ३५ लाख १७ हजार १ सय २३ मतदाता रहेको मधेसका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा १ हजार ५४ उम्मेदवार चुनावी मैदानमा छन् । एउटा निर्वाचन क्षेत्रमा एकदेखि दुई लाखसम्म मतदाता छन् ।
विगतका निर्वाचनमा भएका बुथ कब्जा, झडप र राजनीतिक विवादका घटना, नेपाल–भारतबीचको खुला सिमाना, जेन–जी आन्दोलनपछि सुरक्षा चुनौतीको दृष्टिकोणले मतदानस्थललाई सुरक्षा निकायले सामान्य, संवेदनशील र अति संवेदनशीलको सूचीमा वर्गीकरण गरिएको हो । जेन–जी आन्दोलनपछि सिर्जित सुरक्षा अवस्था यो निर्वाचनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । २४ भदौमा लुटिएका हतियार र फरार कैदीहरू अधिकांश नियन्त्रणमा आउन सकेका छैनन् । ती हतियार निर्वाचनको समयमा बुथ कब्जा गर्न वा विपक्षीलाई तर्साउन प्रयोग हुन सक्ने जोखिम छ ।
यसपालि मधेसमा शीर्ष नेताहरू, नयाँ र ठूला राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार छन् । रास्वपाका अमरेशकुमार सिंह त्यही क्षेत्रबाट चुनावी मैदानमा छन् । यो क्षेत्रमा प्रत्येक निर्वाचनमा झडपका घटना हुँदै आएको छ ।
सर्लाही–२ मा नेपाली राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो छन् । त्यही क्षेत्रमा नेकपा नेता महेन्द्र राय यादव उम्मेदवार छन् । सर्लाही ३ मा नेकपा नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, धनुषा–३ मा कांग्रेस नेता बिमलेन्द्र निधि, महोत्तरी–१ मा नेकपा नेता गिरिराजमणि पोख्रेल, महोत्तरी–२ मा जसपाका शरतसिंह भण्डारी उम्मेदवार छन् ।
रौतहट–१ मा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, रौतहट–३ मा आजपाका अध्यक्ष प्रभु साह, बारा–३ मा कांग्रेस नेता फरमुल्लाह मन्सुर उम्मेदवार छन् । यी उम्मेदवारहरूसित प्रतिस्पर्धामा रहेका नयाँ÷पुराना उम्मेदवारबीचको ‘इगो’ ले झडप निम्त्याउन सक्ने सुरक्षा अधिकारीहरूको आकलन छ ।
कांग्रेसका निवर्तमान सांसद एवं रौतहट–४ का उम्मेदवार देवप्रसाद तिमल्सिना जेन–जी आन्दोलनका क्रममा फरार अपराधी र लुटिएका हतियार प्रयोग गरी निर्वाचन बिथोल्ने प्रयास हुन सक्ने बताउँछन् । ‘पहिलेको जस्तै हेलचक्य्राइँ गर्न हुन्न, यस पटक सुरक्षाकर्मीको मनोबल आन्दोलनले खस्केको छ,’ उनले भने, ‘यही बेला विभिन्न तत्त्वले फाइदा उठाउन सक्छ ।’
अहिले सबै निर्वाचन क्षेत्रमा सुरक्षा निकायको संयुक्त गस्ती भइरहेको छ । अति संवेदनशील स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । सेना, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी पाँच वटै दस्तालाई निर्वाचन सुरक्षामा जिम्मेवारी र भूमिका किटान गरी परिचालन गरिँदै छ ।
खुला सिमानाको फाइदा उठाउँदै हतियार र अपराधीहरू ओसारपसार हुन नदिन सीमानाकामा कडा जाँच सुरु गरिएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासका प्रमुख डीआईजी कृष्ण ढकालले बताए । ‘निर्वाचनका बेला सुरक्षा व्यवस्थामा कुनै किसिमको सम्झौता हुँदैन,’ उनले भने, ‘हामीले सीमा क्षेत्रमा गस्ती र जाँच कडा बनाइरहेका छौं ।’
आसन्न चुनावमा सुरक्षा चुनौती रहेको पूर्वप्राध्यापक योगेन्द्र राय यादव बताउँछन् । ‘विगतको चुनावभन्दा यस पटक फरक अवस्था देखिएको छ,’ उनले भने, ‘त्यसैले धाँधलीरहित र शान्ति–सुरक्षाबीच निर्वाचन सम्पन्न गराउनुपर्ने जिम्मेवारी छ ।’ शीव पुरी/कान्तिपुर

