Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जको दैनिक बचत सहकारीविरुद्ध प्रशासनमा उजुरी, करोडौँ रकम फिर्ता नगरेको आरोप

वीरगन्ज,२५ भदौं : वीरगन्जको सर्राफ मार्केटमा रहेको दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडविरुद्ध निक्षेपकर्ताहरूले प्रशासनमा उजुरी दिएका छन् ।

सहकारीमा जम्मा गरेको निक्षेप रकम फिर्ता गर्न सहकारीका सञ्चालकहरूले आनाकानी गरेपछि बचतकर्ताहरूको एक समूहले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) शिव प्रसाद लम्साललाई दिएको उजुरीमा बचतकर्ताहरूले सहकारीका सञ्चालक रुपेश पटेललाई उपस्थित गराएर बचतको रकम फिर्ता गराउन सहयोग गर्न आग्रह गरेका छन् । बचतकर्ताहरूको उजुरीका आधारमा लम्सालले सञ्चालक पटेललाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय पर्सालाई सोमबार नै पत्राचार पनि गरेका छन् ।

सहकारी सञ्चालक पटेलले महिनौँदेखि पैसा फिर्ता नगरेको बचतकर्ताहरूको गुनासो छ । उनीहरूका अनुसार सहकारीले झन्डै एक सय निक्षेपकर्ताको डेढ करोडभन्दा बढी रकम फिर्ता गरेको छैन । ‘दैनिक बचतबाट मलाई डेढ लाख रुपैयाँ फिर्ता लिनुपर्ने छ,’ बचतकर्ता उमेश बरनवालले भने, ‘पछिल्लो ६ महिनादेखि सहकारीको कार्यालय धाइरहेको छु तर सञ्चालकहरूले रकम फिर्ता गरेका छैनन् ।’

बरनवालका अनुसार पछिल्लो दुई महिनादेखि सहकारीको कार्यालय पनि बन्द छ । ‘सञ्चालक रुपेश पटेललाई फोन गर्दा उनले उठाउँदैनन् । फोन उठाए पनि मसँग जुन बेला पैसा हुन्छ फिर्ता गर्छु, तपाईँलाई जे गर्नु छ गर्नुस् भनेर उल्टै धम्की दिने गरेका छन्,’ बरनवालले थपे, ‘आज बाध्य भएर हामीले उजुरी दिनुपरेको छ ।’

बरनवाल जस्तै सहकारीमा बचतकर्ताहरूको ५० हजारदेखि २० लाख रुपैयाँसम्म जम्मा छ । प्रहरीले सहकारीबाट पैसा फिर्ता निकाल्न सहयोग गर्ने बचतकर्ताहरूको विश्वास छ ।

बचतकर्ताले गरेको गुनासोका विषयमा बुझ्न सहकारी पुग्दा कार्यालयको मूल ढोकामा ताल्चा लगाइएको थियो । सञ्चालक रुपेश पटेललाई (९८०९१४०९२४) मा पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।दैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय ललितपुर महानगरपालिकास्थित कुमारीपाटीमा छ ।

 

Related posts

दीर्घकालीन व्यावसायिक योजना बनाउन उद्योगमन्त्री रिजालको निर्देशन

MadhesKhabar

दशैंमा वीरगन्जको व्यपार सुनसान , रक्सौलको बजार गुल्जार

MadhesKhabar

कृषि उद्यमी र किसानलाई प्रोत्साहित गर्न राष्ट्र बैंकका गर्भनर अधिकारीको निर्देशन

MadhesKhabar

Leave a Comment