Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा अब मेट्रिक प्रणालीमा आधारित घर नम्बर

वीरगन्ज,१८ भदौं : वीरगन्ज महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जिआईएस बेस्ड हाउस नम्बरिङ) थालनी गर्न सुरुवात गरेको छ । बढ्दो शहरीकरणसँगै घर संख्या बढ्दै गएकाले नगरवासीका घर सहजै पहिचान गर्न सकियोस भन्ने उद्देश्यले मेट्रिक ठेगाना प्रणालीको सुरुवात गरिएको हो ।

महानगरलाई व्यवस्थित र स्मार्ट नगरका रुपमा विकास गर्न यो प्रणालीले टेवा पु¥याउने मेयर राजेशमान सिंहले बताए ।महानगरको आरयूडीपी प्रोजेक्ट अन्तर्गत एडीबीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो । गणकहरुले आवश्यक तथ्याङक संकलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन् ।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१० आदर्शनगरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगरका मेयर सिंहले नम्बर प्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली उद्घाटन गरेका हुन् ।आदर्शनगर चोकदेखि ठाकुरराम क्याम्पस सम्मको सडकलाई पशुपति घोष मार्ग नामाकरण गरि २३० नम्बरको नम्बर प्लेट टाँस गरिएको हो ।

सडकको चोक तथा मिलन विन्दु (दोबाटो र चौबाटो) देखि कुनै निश्चित घरको दूरी (लम्बाई) का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो । उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोहि आधारमा घर–घरमा नम्बर प्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए ।

पहिलो चरणमा महानगरको वडा नम्वर १ देखि १६ सम्म जिआईएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्वे गरि सबै सडकको नामाकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआईएस विज्ञ उमेश कुँवरले बताए । आवश्यक डाटावेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँ तर्फ जोर नम्बर र बाँया तर्फ विजोर नम्वर प्रणालीका आधारमा नम्बरिङ गरिने पनि उनले बताए ।

पशुपति घोष मार्गमा पहिलोदिन सोमबार ५५ वटा घरमा नम्बरिङ गरिएको छ । १६ वटै वडाको करिब ३३ हजार भन्दा बढी घरमा नम्बरिङ गर्ने गरि तयारी भएको र पहिलो चरणमा कम्तिमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बर प्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यले जानकारी दिए ।

यो प्रणालीमा सडक÷गल्लीको नाम र दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने जिआईएस टेक्निसियनसमेत रहेका सब इन्जिनियर अर्चन आचार्यले बताए । घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मुल ढोका सम्मको दुरी घरको नम्बर प्लेटमा राखिने भएका कारण घर पत्ता लगाउन सहज हुने पनि उनले बताए । नम्बरप्लेट राख्नुका साथै सडक र गल्लीको नाम र घर नम्बर गुगलमा समावेश गरिने गरि काम भइरहेको हुँदा कोही कसैको पनि सहजै ठेगाना पत्ता लगाउन सकिने छ ।

Related posts

पर्साकाे भौराटारमा नि:शुल्क आँखा शिविर सम्पन्न, ५३ जनामा देखियो मोतियाबिन्दु

MadhesKhabar

वीरगन्जमा जारी प्रधानमन्त्री कपमा सुदूरपश्चिममाथि मधेसको सानदार जित

MadhesKhabar

वीरगन्ज-१० का वडाध्यक्ष कानुकाे पहलमा २० भन्दा बढी स्थानमा आगाे ताप्ने व्यवस्था मिलाइयाे

MadhesKhabar

Leave a Comment