वीरगन्ज,०७ भदौं : बचतकर्ताहरूको १ अर्ब भन्दा बढी निक्षेप रकम फिर्ता गर्न नसकेर सम्पर्क विहिन भएको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेर सञ्चालकहरुलाइ पक्राउ गरी कारबाही गर्न वीरगन्ज महानगरपालिकाले विभिन्न निकायमा पत्रचार गरेको छ ।
वीरगन्ज महााागरपालिका वडा नम्बर १० आदर्शनगरस्थित सानो पाइला सहकारीलाई समस्याग्रस्त संस्था घोषणा गरी सञ्चालकहरुलाइ पक्राउ गरी कारबाही गर्न वीरगन्ज महानगरपालिकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी ) र नेपाल राष्ट्र बैंकलाई भदौं ४ गते छुट्टा छुट्टै पत्रचार गरेको हो ।
तीनवटै निकायमा पठाएको पत्रमा उक्त सहकारी संस्थाले सहकारीजन्य ठगीको कसूर गरी संस्थाका सदस्यहरुले बचत गरेको करीब १ अर्ब रकम हिनामिना गरी फिर्ता नगरेको देखिएकाले उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरी संस्थाका सञ्चालक र पदाधिकारीहरुलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।
महानगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकलाई लेखिएको पत्रमा सहकारीका संरक्षाक, पूर्व सञ्चालक, वर्तमान सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको बैंक खताका साथै चल–अचल सम्पत्ति रोक्का गर्न महानगरले सिफारिस गरेको छ ।
यस्तै सिआइबीलाई पठाइएको पत्रमा संस्थाका संस्थापक एंवग संरक्षक गितेन्द्रबाबु (जिबी राई) ,अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ , सचिव देवेन्द्रबाबु राई , कोषाध्यक्ष कुमार रम्तेल , सदस्य अशोक यादव , थानबहादुर बुढामगर र धिरज दास , संस्थाका व्यवस्थापक असरफ अली, पूर्व उपाध्यक्ष नेहा पौडेल , पूर्व सचिव तस्बिरन मियाँ , पुर्व कोषाध्यक्ष सृष्टि मानन्धरसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरी कारबाहीको लागि सिफारिस गरिएको छ ।
सानो पाइला सहकारीले सहकारी जन्य ठगी गरेको कसूर पाइएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्दै कारबाही र सम्पत्ति रोकाका लागि सिफारिस गरिएको महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्धन शाखाका प्रमुख सुनिल कर्णले जानकारी दिए ।
उनले भने,‘ उक्त सहकारी संस्थाले सहकारी जन्य कसुर गरी संस्थाका सदस्यहरूको बचत रकम फिर्ता नगरेको, शेयर सदस्यहरूको हित विपरीत क्रियाकलाप गरी करिब १ अर्ब रुपैयाँ हिनामिना गरी आफू र आफ्ना आफन्तका नाममा सम्पत्ति लुकाई सहकारी संस्थालाई अन्य संस्थासँग एकीकरण गरेको , बचतकर्ताहरूको बचत रकम फिर्ता नगर्ने मनसायले आर्थिक कारोबार गरेको देखियो , त्यसैले उक्त संस्थालाई समसस्याग्रस्त घोषणा गरी सञ्चालक तथा पदाधिकारीहरू उपर छानबिन गरी कारबाहीका लागि आवश्यक कागजातसहित तीनवटै निकायमा महानगरले सिफारिससहितको पत्र पठाएको हो ।’
कर्णका अनुसार , सानो पाइला सहकारीले सदस्यहरुले बचत गरेको निक्षेप रकम फिर्ता गर्न नमानेको भन्दै महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्धन शाखामा एक सय १५ भन्दा बढी लिखित उजुरी परेको छ । ती सबै उजुरीमा गरि उक्त सहकारीले १ अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरुलाई फिर्ता नगरेको पाइएकोपनि कर्णले जानकारी दिए ।
सददस्यहरुको उजुरी पर्न थालेपछि महानगरपालिकाले संस्थाका संरक्षक जिबी राईसहितका सञ्चालकहरुलाई गत असार २४ गते महानगरपालिकाको कार्यालयमै झिकाएको थियो । उक्त बैठकमा सञ्चालक र व्यवस्थापकहरुले समस्या समाधानका लागि १५ दिनको समय मागेका थिए ।उक्त समय बितेपछि महानगरपालिकाको एक टोली सहकारीको कार्यालयमा अनुगमनका लागि पुगेको थियो ।तर अनुगमनमा पुग्दा सहकारीको कर्यालयमा संरक्षक , सञ्चालक , पदाधिकारी र व्यवस्थापक मध्ये कोहीपनि नभेटिएको कर्णले बताए ।
सञ्चालक र व्यवस्थापकहरु नै सम्पर्क विहिन भएपछि महानगरपालिकाले भदौं ४ गते मन्त्रालय , सिआइबी र राष्ट्र बैंकलाई कारबाहीका लागि पत्र लेखेको कर्णले बताए ।
काठममाडौंको कालीमाटीमा केीन्द्रय कार्यालय भएको सानो पाइला सहकारीको वीरगन्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते बचचकर्ता सदस्यहरुले प्रदर्शन गर्दै धर्नापनि दिएका थिए । हाल उक्त कार्यालय बन्द छ । कार्यालय बाहिर लगाइएको संस्थाको साइनबोर्डपनि हटाइएको छ ।