जनकपुरधाम,२०साउन: मधेस प्रदेशका मुख्यन्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरले हिंसा गर्न खोजेको भन्दै कार्यालय सहयोगी अनिला कुमारी यादव न्यायका लागि मुख्यमन्त्रीलाई गुहारेकी छन् ।
कार्यालय सहयोगी अनिलाले आफू मुख्यन्यायधिवक्ता ठाकुरबाटै असुरक्षित बनेकाले सुरक्षा र कारबाहीका लागि मुख्यमन्त्री सरोज कुमार यादवलाई गुहारेकी हुन् । उनले मुख्यमन्त्री यादवलाई साउन १४ मा दिएको उजुरी सार्वजनिक भएपछि घटना बाहिरिएको छ ।
सहयोगी अनिला मुख्यन्यायधिवक्ताको कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत छन् । उनी मधेस आन्दोलनका शहिद रामविवेक यादवकी श्रीमती हुन् । एक शहिद परिवार एक रोजगार अनुरुप तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले उनलाई करारमा सहयोगी नियुक्त गरेका थिए ।
महोत्तरी घर भएकी अनिलाले मुख्यन्यायधिवक्ता ठाकुरले मानसिक यातना दिएको र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । आफूमाथि कुनै पनि प्रकारको हिंसा गर्न सक्ने भन्दै उनले सुरक्षा मागेकी छन् ।
उनले सुरक्षा माग्दै मुख्यमन्त्री यादवलाई दिएको उजुरीमा भनेकी छन्, ‘न्यायाधिवक्ता ठाकुरले कार्यालयमा काम काज गर्दाको अवस्थामा काम ठिकै गर्छौ, काम तिम्रो राम्रो छ भन्ने गर्नु भएको तर तिम्रो अनुहारमा मुस्कान छैन, रिसाएको जस्तो गरी सँधै किन बस्छौ, म उपस्थित हुँदा सँधै हसमुख भई आउनु, मैले जे जे भन्छु त्यो सबै मान्नु, नत्र तिमी काममा आउनु पर्दैन, म तिम्रो म्याद थप्दिन भनि मानसिक यातना र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहार गर्ने कार्य गर्नु भएको छ ।’
मानसिक यातना र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहारको सिकार बने पनि प्रदेश सरकारको बदनाम हुने कारणले चुप लागि बसेको तर पछिल्लो दिनहरुमा अझै यस्ता घटना तीव्र हुदै गएकोले न्यायका लागि मुख्यमन्त्रीलाई गुहारेको अनिलाले बताएकी छन् ।

मुख्यन्यायधिवक्ताको कार्यालयले भने विज्ञप्ती जारी गरेर मुख्यन्यायधिवक्ता ठाकुरमाथि लागेको आरोपमा सत्यता नभएको दावी गरेको छ । उक्त विज्ञप्तीमा भने हस्ताक्षर कसैको छैन् ।
करारको म्याद थप गर्ने विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्न खोजिएको विज्ञप्तीमा उल्लेख छ ।विज्ञप्तिमा भनिएको छ, ‘म्याद थप नगर्ने विषय उठान गर्दा मैले नियुक्ति गर्ने व्यक्ति समक्ष निवेदन पेश गरेको हुँ भनेर बोलेको कुरा कार्यालय सहयोगी अनिलाले ने सोही कार्यकक्षमा लुकाई छिपाई अनुमति विना लिएको भिडियोबाट समेत देखिन आएको छ । सहयोगी अनिलाले नै म्याद थप गर्ने विषयलाई नै लिएर मेरो चरित्र हत्या हुने गरी निवेदन प्रस्तुत गरेको विषय निजले तयार गरेको भिडियोबाट नै खण्डन गरेको प्रमाण समेत मसँग सुरक्षित रहेको छ । साभमर:नेपालप्रेस

