वीरगन्ज, २५ असार : वीरगन्ज महानगरपालिकाले सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या तत्काल समाधान गर्न संचालकलाई निर्देशन दिएको छ।सहकारीको समस्या तत्काल समाधान गर्दै बचतकर्ताको बचत निक्षेप फिर्ता गर्न महानगरले संचालकलाई निर्देशन दिएको हो ।
आइतबार संस्थाका संस्थापक जी.वी. राईलाई झिकाएर महानगरका मेयर राजेशमान सिंहले बचतकर्ताको बचत तत्काल फिर्ता गरि संस्थामा देखिएको समस्या समाधान गर्न निर्देशन दिए ।
आफ्ना बचतकर्ताको बचत निक्षेप लामो समयदेखि फिर्ता नगरी दुःख मात्रै दिएको भन्दै समस्या समाधान गरिदिन माग गर्दै बचतकर्ताहरुले महानगरमा निवेदन दिएका थिए ।
बचतकर्ताको बचत लामो समयदेखि फिर्ता नगरेको र पटक पटक समस्या समाधानका लागि ताकेता गर्दा पनि समाधान नभएपछि महागनरले सहकारीलाई कालो सूचीमा राख्ने तयारी गर्दै संस्थाका संचालकलाई झिकाएको हो । आइतबार संस्थाका सस्थापक जी.वी. राई, कोषाध्यक्ष कुमार रम्तेल, वीरगन्ज स्थित कार्यालयका व्यवस्थापक असरफ अलीलाई महानगरमा झिकाएर नगर मेयर सिंहले बचतकर्ताको कुनै पनि गुनासो नआउने गरि समस्या समाधान गर्न निर्देशन दिए।यसका साथै बचतकर्ताको बचत निक्षेपको विवरण र ऋण लगानी गरेकाहरुको रकम खुल्ने गरि विवरण तीन दिन भित्र महानगरमा बुझाउन, बचतकर्ताको वित्तीय हितलाई मध्यनजर गर्दै १ लाख रुपैयाँभन्दा कम निक्षेप रहेका बचतकर्ताहरुको निक्षेप तत्कालै क्रमबद्ध रुपमा फिर्ता गर्न पनि पनि उनले निर्देशन दिए ।
यस्तै आफ्नो वित्तीय स्थिति खुल्ने श्वेत पत्र साउन १५ भित्र तयार गरि सार्वजनिक गर्न र सोको विवरण महानगरलाई बुझाउन पनि उनले निर्देशन दिए ।मेयर सिंहले दिएकाे निर्देशनमा संस्थाका संचालकलाई लिखित सहमति गराइएको छ ।
बचतकर्ताको समस्या सम्बोधन नभए सहकारीलाई कालो सूचिमा राखेर थप कारवाही अघि बढाउने भन्दै मेयर सिंहले समस्या समाधानमा ध्यान दिन आग्रह गरे ।
संस्थाका संस्थापक जी.वी. राईले आफूहरु महानगरको निर्देशन र बचतकर्ताको हित अनुसार काम गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

