
काठमाडौं,१२ असार : साफ च्याम्पियनसिप २०२३ मा मंगलबार नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको छ ।सुरुवाती दुई खेल हार्दै प्रतियोगिताको समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तानलाई हराउँदै सान्तवना जित हात पारेको हो ।
भारतको बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।४६औं मिनेटमा आभास लामिछानेको स्थानमा मैदान प्रवेश गरेका आशिषले लकेन लिम्बुको पासमा नेपालका लागि आफ्नो पहिलो गोल गरेका हुन् ।
जारी साफ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ ।
नेपालले साफ च्याम्पियनसिपमा १५ वर्षपछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो । पछिल्लो पटक नेपालले सन् २००८ मा माल्दिभ्समा पाकिस्तानलाई साफमा हराएको थियो । त्यसयता भने नपालले साफमा पाकिस्तानलाई हराउन सकेको थिएन ।सन् २०१८ मा बंगलादेशको ढाकामा भएको पछिल्लो साफमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो ।

