
वीरगन्ज,३१बैशाख:दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंग्लाेरले इन्डियन प्रिमियर लिग (आईपीएल) काे प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ ।आइतबार राति भएको खेलमा दिल्लीविरुद्ध बेंग्लाेरले ४७ रनको जित हात पारेको हाे ।
बेंग्लाेरले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो । दिल्लीका लागि कप्तान अक्षर पटेलले ३९ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५७ रन बनाए । यस्तै साई होपले २३ बलमा २९ रन जोडे । जेक फ्रेजर-मक्गर्कले ८ बलमा २१ रन बनाए।
बलिङतर्फ बेंग्लाेरका लागि यश दयालले ३ विकेट लिए भने लोकी फर्गुसनले २ विकेट लिए । स्वप्निल सिंह, मोहम्मद सिराज र क्यामरन ग्रीनले समान १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लाेरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८७ रन बनाएकाे थियो ।उसका लागि रजत पाटिदरले ३२ बलमा ३ चौका र ३ छक्का सहित ५२ रन बनाए । यस्तै विल ज्याक्सले २९ बलमा ४१ रन जोडे । विराट कोहलीले १३ बलमा २७ रन बनाए ।
दिल्लीका खलिल अहमद र रशिख सलामले २-२ विकेट लिए भने इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवले समान १-१ विकेट लिए ।
जित पछि पाँचौं स्थानमा उक्लिएको बेंग्लाेरको १३ खेलमा १२ अंक भएको छ । तेस्रो स्थानमा रहेको चेन्नाईको १३ खेलमा १४ अंक रहेको छ भने चौथो हैदराबादको १२ खेलमा १४ अंक नै रहेको छ ।
दिल्ली र लखनऊ पनि १२ अंकमा नै रहेका छन् । तेस्रो र चौथो स्थानका लागि पाँच टोलीको सम्भावना कायमै रहेको छ । पहिलो स्थानमा रहेको कोलकत्ता प्लेअफमा पुगिसकेको छ भने दोस्रो रहेको राजस्थानको पनि सम्भावना उच्च रहेको छ ।

