वीरगन्ज,१०कार्तिक: दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्दै शीर्षस्थानमा उक्लिएको छ । यो जितसँगै दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पछि पार्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
जितको लागि २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४७.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा मध्यक्रमका ब्याटर एडेन माक्ररमले ९३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए । स्पिनर उस्मा मिरको ४१ औं ओभरको दोस्रो बलमा माक्ररम बाबर आजमबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।
ओपनर टेम्बा बभुमा २७ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । क्विन्टन डि कक १४ बलमा ५ चौकासहित २४, रास्सी भान डर डुसेन २१ र हेनरिक क्लासेन १२ रनमा आउट भए । डेविड मिलर ३३ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भए । मिलर शाहिन शाह अफ्रिदीको बलमा रिजवानबाट क्याच आउट भएका थिए । हरिस रौफले मार्को यानसनलाई २० रनमा आउट गरे ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदील १० ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर २ विकेट लिए । स्पिनर उस्मा मिरले ८ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४६.४ ओभरमा २ सय ७० रनमा अल आउट भएको थियो । पाकिस्तानका मध्यक्रमका ब्याटर साउद सकिलले ५२ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन बनाएका थिए ।
कप्तान बाबर आजमले ६५ बलमा ४ चौका र १ छक्कासहित ५०, ओपनर अब्दुल्लाह शफिक ९, इमाम उल हक १२, मोहम्मद नवाज २४, शाहिन शाह अफ्रिदी २, मोहम्मद वासिम जुनियर ७ र मोहम्मद रिजवान ३१ रनमा आउट भए ।
शादब खान ३६ बलमा ३ चौका र २ छक्कासहित ४३ र इफ्तिखार अहमद २१ रनमा आउट भए । दक्षिण अफ्रिकाकाको जितमा स्पिनर तबरेज शाम्सीले १० ओभरमा ६० रन खर्चेर ४ विकेट लिए । मार्को यानसनले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ३ विकेट लिए । जेराल्ड कोट्जी ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।
यो जितसँगै दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । भारत ५ खेलमा १० अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलिया ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ ।
पाकिस्तानको यस हारले अष्ट्रेलियालाई भने फाइदा पुग्नेछ । अष्ट्रेलियाले बाँकी सबै खेल जितेको खण्डमा सहजै सेमिफाइनलमा स्थान बनाउनेछ । चार मध्य एक खेल हार्दा पनि अष्ट्रेलिया १२ अंकका साथ सेमिफाइनल खेल्न सक्छ ।
पाकिस्तानको भने सेमिफाइनल सम्भावना अव अंक गणीतिय झिनो मात्रै बाँकी छ । पाकिस्तानले अव ३१ अक्टोबरमा बंगलादेश, ४ नोभेम्बरमा न्युजिल्यान्ड र ११ नोभेम्बरमा इंग्ल्यान्डसँग खेल्नेछ । यी सबै खेल जितेर मात्रै सेमिफाइनलमा पुग्न सक्दैन । अष्ट्रेलिया र इंग्ल्यान्डले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ । अन्य टोलीको नतिजा पनि आफु अनुकुल आउनुपर्छ ।

