
काठमाडौं, ८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेकोले यसपालि मलको अभाव नहुने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गएको साउन महिनादेखि अहिलेसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको जानकारी गराउदै त्यसमध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरुमा मौज्दात रहेको बताए ।
त्यस्तै यही महिनाभित्र भारतको कोलकाताबाट ४५ हजार मेट्रिक टन डीएपी मल ल्याइने पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने दाबीपनि गरे ।
उनले भने – ‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षहरुमा भन्दा सुदृढ भएको छ । २०७९ सालको साउन महिनादेखि अहिलेसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । त्योमध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री डिपोहरुमा मौज्दात रहेको छ । भारतको कोलकाताबाट ४५ हजार मेट्रिक टन डीएपी यो महिनाभित्र नेपाल भित्रिने व्यवस्था गरिएको छ । धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुने अवस्था यस पटक रहेको छैन । सुरुमा रासायनिक मलका लागि १५ अर्ब विनियोजन भए पनि थप २३ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ ।’
प्रधानमन्त्री प्रचण्डले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली अपनाइएको बताए ।

