Madhes Khabar
कृषि हेडलाइन

वीरगन्जका सहकारीहरुकाे बदमाशीले किसानले पाएनन् मल

फाइल फाेटाे ।

वीरगन्ज,१८असार:रोपाइँ सिजन सुरु भइसक्दापनि वीरगन्ज महानगरकै अधिकांश वडाका सहकारीले कृषि सामग्री कम्पनी वीरगन्जबाट कोटाको मल लगेका छैनन् । मौज्दात पर्याप्त रहेको अवस्थामा महानगरकै सहकारीहरुले आफ्नो कोटाको मल लैजान रुचि नदेखाउँदा मलको अभाव रहेको हल्ला फैलिएको कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेले गुनासो गरे ।

‘बजारमा कम्पनी र साल्ट ट्रेडिङ्गले मल दिएन भनेर नकारात्मक हल्ला छ,’ उनले भने, ‘तर एउटा होइन ३ वटा लटको कोटाको मल महानगरकै बिभिन्न वडाका सहकारीले लग्न रुची देखाएका छैनन् ।’

पाण्डेका अनुसार, वडा नम्बर १५, १६, १९, २१, २६, २७, ३१ र ३२ का सहकारीहरुले अझै पनि डिएपि, पोटास र युरिया मल लैजाने प्रक्रिया नै अघि बढाएका छैनन् । यी वडा महानगरका ग्रामीण बस्ती हुन् । प्रत्येक वडामा मल वितरणको जिम्मेवारी लिएका १/२ वटा सहकारी सक्रिय छन् ।

वीरगन्ज महानगरपालिकाको कार्यालयले यसअघिनै २ पटक डिएपि, १ पटक पोटास र १ पटक युरियाको कोटा निर्धारण गरिसकेको छ । ‘भारत तथा तेस्रो मुलुकबाट मल भित्रिए लगत्तै प्रत्येक कन्साइन्मेन्टमा स्थानीय तहका सहकारीहरुलाई कोटा निर्धारण गर्ने गरिन्छ, वीरगन्जको हकमा महानगरपालिकाको कार्यालयले मातहतका वडाका सहकारीहरुलाई कोटा निर्धारण गर्छ,’ उनले भने, ‘तर ४ वटा कन्साइन्मेन्टको मलमा कोटा निर्धारण भइसक्दा पनि सहकारीहरुले मल लग्न रुचि देखाएका छैनन् ।’

जेठ २० यता महानगरपालिकाको कार्यालयले डिएपिको २ पटक, पोटासको एक पटक र आइतबार युरियाको गरी ४ पटक कोटा निर्धारण गरिसकेको पाण्डेले बताए ।

यस अवधिमा ग्लोबल टेण्डरबाट मल आपूर्तिको ठेक्का पाएको आदित्य बिरला ग्रुपले २० हजार टन डिएपी, भारतको इन्डियन पोटास लिमिटेडले २५ हजार टन डिएपि, सन ग्रुपले ३० हजार टन युरिया र आइपिएललेनै १० हजार टन पोटास मल ल्याइसकेको पाण्डेले बताए ।

मल भित्रिए लगत्तै प्रत्येक कन्साइन्मेन्टमा यसरी सहकारीहरुलाई कोटा निर्धारण गर्ने परिपाटी रहेको छ । आइपिएलकै अर्को कन्साइन्मेन्टको ३० हजार टन युरिया भित्रिने क्रममा छ । युरिया बोकेर आएको पहिलो रेल्वे र्‍याक सोमबार रक्सौल रेल्वे स्टेशनमा आइपुगेको पाण्डे बताउँछन् ।

त्यसैगरी, नेपालले भारतसँग जिटुीज प्रक्रियाबाट खरिद गरेको २५ हजार टन डिएपि मल कोलकाता बन्दरगाहबाट नेपाल आउन तयारी अवस्थामा रहेको उनले बताए । यसबाहेक अर्को कन्साइन्मेन्टबाट आइपिएलले थप २५ हजार टन डिएपि मल ल्याउन लागेको र हाल यो समुन्द्री मार्गमा रहेको पाण्डेले बताए ।

यी कन्साइन्मेन्टका मल भित्रिए लगत्तै पुनः नयाँ कोटा निर्धारण समेत हुन थाल्ने उनले बताए । कम्पनीसँग मधेस प्रदेशमा हाल ९ हजार १ सय ७२ टन युरिया, २ हजार १ सय ६८ टन डिएपि र २ हजार ६ सय टन पोटास मल मौज्दात रहेको पाण्डेले जानकारी दिए । डिएपि र युरिया थप भित्रिने क्रममा रहेकाले जारी बर्षे धान बाली सिजनमा मलको अभाव नहुने दाबी पनि पाण्डेले गरे ।शंकर आचार्य / ईकान्तिपुर

Related posts

पर्सामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न

MadhesKhabar

मधेस प्रदेशमा तत्काल ५०० वटा ’डीप बोरिङ’ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

MadhesKhabar

घडीअर्वा छठघाट सजावटको काम तिब्र, शुक्रबार रक्तदान कार्यक्रम

MadhesKhabar

Leave a Comment