
वीरगन्ज, १६ जेष्ठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालय पर्साका पूर्व अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।गुणस्तर तथा नापतौल कार्यलय पर्साका तत्कालिन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध अख्तियारले मंगलबार साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालकाअनुसार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा ४ करोड ४७ लाख ३४ हजार २ सय १२ रुपैयाँ बिगो र त्यति नै जरिवाना तथा कैदसजाय मागदाबीसहित मुद्दा दायर गरिएको हो ।
सार्वजनिक पदमा रहँदा यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । २०४६ जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका यादवले २०७९ सालसम्ममा ७ करोड २४ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका थिए ।
यादवले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरू विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको अख्तियारको भनाइ छ ।

