वीरगन्ज, १५ बैशाख: वीरगन्ज उद्योग वाणिज्य संघले चारजना उद्याेगीहरुलाई सम्मान गरेको छ । संघले आफ्नो सभाकक्षमा आयोजना गरेको सम्मान कार्यक्रममा उद्योगपति एवं समाजसेवी मुरलीधर रुँगटा, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वीरगन्जज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ता र वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार वैधलाई सम्मान–पत्रद्वारा सम्मानित गरेको हो ।
रुङ्गटा, ड गुप्ता र वैधलाई नेपाल सुप्रबल जनसेवाश्री पदकबाट विभुषित भएकाे र टेमानी नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा उनीहरुलाई संघले सम्मानित गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष अनिलकुमार अग्रवालले यस क्षेत्रका उद्योगी व्यवसायीहरुलाई नेपाल सरकारबाट सम्मान पाएकोमा वीरगन्ज उद्योग वाणिज्य संघ लगायत यस क्षेत्रका सम्पूर्ण निजी क्षेत्र समेत गौरवान्वित भएको बताए ।
सम्मान ग्रहण गर्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मधेस प्रदेश उद्योग वाणिज्य संघको भूमिकाका बारे स्पष्ट पार्दै मधेस प्रदेश सरकारसँग सहकार्य गर्ने र निजी क्षेत्रका साझा समस्याको सम्बोधनका लागि पहल गर्ने बताए । उनले वीरगन्जले बोकेको सम्भावना र अवसरलाई मधेस आन्दोलन पश्चात् ओझेलमा पार्न खोजिएकोले यसलाई समय सापेक्ष गतिशिील र जीवन्त बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोककुमार वैधले वीरगन्जज उद्योग वाणिज्य संघको महत्व र यसको कार्यक्षेत्र दिनप्रतिदिन विस्तार भइरहेकोले नेतृत्व वर्गले गम्भीरतापूर्वक वर्तमानको आवश्यकता र भविष्यका लागि खेल्नुपर्ने भूमिकाको पहिचान गर्नु आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा. सुबोधकुमार गुप्ताले संघसँग आबद्ध रहेर नै आफ्नो क्षमताको विकास हुनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको बताए । डा. गुप्ताले संघमा आबद्ध पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सम्बोधन गर्दै संघमा दिनु भएको समय खेर नजाने बताए ।
उद्योगपति एवं समाजसेवी मुरलीधर रुँगटाले उद्योग व्यापारका साथै सामाजिक क्षेत्रको विकासमा पनि सँगसँगै अघि बढ्नु पर्नेमा जोड दिए ।
संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, संघका उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द्र गोयल, सह–कोषाध्यक्ष अनोज रुँगटा लगायतका संघका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव आशीषकुमार लाठले गरेका थिए ।

