
बारा,७ बैशाख : लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले संघीयताको कार्यन्वयन, संविधान संसोधन र मधेसी जनताको अधिकारका लागि उपेन्द्र यादवको जित आवश्यक रहेको बताएका छन् ।
बाराको बरियापुरमा बिहिबार पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावीसभालाई लोसपाका तर्फबाट सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका सोनलले संघीयतालाई कार्यन्वयन गराउँदै मधेस आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न र बाँकी रहेका अधिकार प्राप्तिका लागि संविधान संसोधन गराउन बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवको जित आवश्यक रहेको बताएका हुन् ।
सोनलले अहिलेको पाँच दलीय गठबन्धनलाई अझ मजबुत बनाई पाँच वर्ष सम्म टिकाउनका लागि पनि बारा २ मा जसपा अध्यक्ष यादवको जित अपरिहार्य भएको बताए ।
संसदमा यादवको उपस्थिती आवश्यक भएकाले जिताएर संसदमा पठाउन उनले बारा २ का मतदातासंग अपिल पनि गरे ।
सत्य र न्यायको पक्षमा सधै लड्ने उपेन्द्र यादव नजिते नजिते मधेस आन्दोलनबाट प्राप्त उपलब्धिहरु धूमिल हुँदै जाने बताउँदै सोनलले भने, ‘उपेन्द्रजी मधेस आन्दोलनका नायक हुनुहुन्छ । मधेस र मधेसीसँग जोडिएका विषयका बारेमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ । उहाँ जस्तो व्यक्तिलाई सदनबाट टाढा राख्नु भनेको आन्दोलनबाट प्राप्त उपलब्धिहरु धूमिल बनाउनु हो । उहाँ सदनमा नरहे मधेसका मुद्दा कमजोर हुन्छ । त्यसैले पनि उहालाई जिताउन आवश्यक छ ।’
उनले उपेन्द्र यादव राष्ट्रिय स्तरको नेता भएको कारण उनि जितेर गए क्षेत्रमा विकासको मूल फुट्ने दावी गरे । चुनावीसभामा देखिएको उपस्थितिबाट उत्साहित हुँदै सोनलले उपेन्द्र यादवको जित सुनिश्चित भएको दावीसमेत गरे ।

