
बारा,४बैशाख : नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले बारा २ मा गठबनधनका साझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन बाराका सम्पूर्ण नेता कार्यकर्ता एकजुट भएर इमान्दारीताका साथ लागेको बताएका छन् ।कांग्रेसको गढ रहेको बारा २ का सम्पूर्ण कांग्रेसी नेता कार्यकर्ता एकजुट भएर लागेका कारण यादवको जित निश्चित रहेको चौरसियाको दाबी छ ।
सोमबार बाराको महागढीमाई नगरपालिका ६ मा जसपाका राष्ट्रिय अध्यक्ष उंव उम्मेदवार यादवसंगै चुनावी घरदैलोमा हिडेका कांग्रेस केन्द्रिय सदस्य चौरसियाले भने,‘ यसअघि रुष्ट भएका कांग्रेसी नेता कार्यकर्ता पनि अहिले उपेन्द्र जीलाई जिताउन एकजुट भएर दिनरात खटिरहेका छन्, काँग्रेस मात्र होइन पाच दल भित्रका सबै दलका नेता कार्यकर्ता पनि इमान्दारीपूर्वक लागेकाले उपेन्द्र जीको जित सुनिश्चित छ ।
उपेन्द्र यादवका कारण बारा २ को मात्र नभइ समग्र बारा जिल्लाकै विकास र समृद्धिको यात्रा अगाडि बढ्ने भएका कारण यादवलाई संसदमा पुरयाउनु अहिलेको आवश्यकता भएको चौरसियाले बताए ।उनले भने,‘ केन्द्र र प्रदेश दुवैमा गठबन्धनको सरकार छ , त्यसकारण उपेन्द्र जीले बारा २ को विकासका लागि विभिन्न आयोजना र कार्यक्रम ल्याउन सक्नुहुन्छ , यो कुरा यहाका आम जनताले पनि राम्ररी बुझिरहेका छन् ।
मंसिर ४ को निर्वाचनमा बारा २ मा गठबन्धनको उम्मेदवार अलोकप्रिय भएका कारण असफल भएको र त्यहि व्याक्ति फेरि पनि उम्मेदवार बनेर आएकाले उसको हार निश्चित रहेको पनि चौरसियाले जिकिर गरे ।
सोमबारको घरदैलो कार्यक्रममा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवसंगै नेपाली कांग्रेसका सहमहामन्त्री एंव पूर्वमन्त्री उमाकान्त चौधरी , कांग्रेस केन्द्रिय सदस्य अजय चौरसिया , कांग्रेसका जिल्ला सभापति राजेशराय यादव , महागढी नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव लगायतका नेताको पनि सहभागीता थियो ।

