
बारा,२२ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले जितेरपनि मधेस र देशको विकास हुन नसक्ने बताएका छन् ।
बुधबार बारा २ मै पर्ने बरियापुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । बारा २ का जनताले यो सत्य बुझिसकेकाले याहँ एमाले उम्मेदवार पुरुषोत्तम पौडेल नै जित्ने दावी उनको छ । ओलीले बारा– २ मा पौडेलको जित सुनिश्चित भएको जिकिर पनि गरे ।
ओलीले भने,‘एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु ।हुन त यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् , जातीवादी नारा पनि लाग्न सक्छन् तर तपाईंहरू सतर्क रहनुहोला , वर्गीय प्रेम मात्रै सही र साँचो हुन्छ । जात जात भनेर गरिने प्रेम झुटो हुन्छ , यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’
ओलीले भने,‘यादवज्यू मोरङ,सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ ? फूलमाला लगाउनुहोला । मन्त्री हुनुहोला । उहाँ (यादवज्यू)बाट विकास हुन्छ त ? पक्कै हुदैन’ । एमाले अध्यक्ष ओलीले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको पनि बताए ।

