Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जकाे आईसीपीका कर्मचारीको हड्ताल फिर्ता

 

काठमाडौं,१३चैत : वीरगन्ज स्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) का कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनका क्रममा उनीहरुले आइतबार आईसीपीको कामकाज ठप्प पारेका थिए । कर्मचारीले आन्दोलन फिर्ता लिएसँगै सोमबारदेखि कामकाज पुनः सुरु भएको छ ।

इन्टर मोडल यातायात विकास समितिले सञ्चालन गर्दै आएको आईसीपीमा करारमा कर्मचारी राखिएको थियो । अप्रिल १ अर्थात १८ चैतदेखि निजी क्षेत्रले सञ्चालन गर्ने भएपछि उनीहरुलाई सेवाबाट हटाइँदैछ । कतिपय कर्मचारी आईसीपी सञ्चालनमा आएदेखि नै कार्यरत छन् ।

उनीहरुले रोजगारीको सुनिश्चितता हुनुपर्ने, उपादान पाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका थिए । उनीहरुले प्रोत्साहन भत्ता स्वरुप हरेक वर्ष एक महिना बराबरको रकम पनि माग गरेका थिए ।

विकास समितिका कार्यकारी निर्देशक आशिषकुमार गजुरेल वीरगन्ज पुगेर कर्मचारीसँग आइतबार नै वार्ता गरेका थिए । नियम कानुनले मिल्ने माग पुरा गर्ने आश्वासन दिएपछि उनीहरुले आन्दोलन फिर्ता लिएर कामकाज सुचारु गरेका हुन् ।

‘रोजगारीका लागि निजी क्षेत्रसँग समन्वय गरेका छौं, उपदान दिने व्यवस्था नियममा छैन,’ उनले भने, ‘नियमावलीमा नभएको कुरा दिन सकिदैन भनेर सम्झाएपछि उहाँहरुले काम सुचारु गर्नुभएको छ ।’

समस्या समाधानका लागि कर्मचारीसँग सोमबार बिहान पनि छलफल भएको उनले बताए । विकास समितिका अनुसार आईसीपीमा ३३ जना करारका कर्मचारी कार्यरत छन् । कर्मचारी शर्त तथा नियमावली अनुसार मात्रै सेवा सुविधा दिन सकिने विकास समितिले जनाएको एक कर्मचारीले बताए ।

कर्मचारी आन्दोलित हुँदा आइतबार आईसीपी तर्फको काम ठप्प भएको थियो । आईसीपीको काम बन्द गरिएको भएपनि वीरगन्ज भन्सार कार्यालयको काम भने सुचारु नै थियो । कार्यालयले आइतबार पनि जाँचपासको काम गरेका सूचना अधिकारी एवं भन्सार अधिकृत रामचन्द्र शर्मा ढकालले जानकारी दिए । ‘जाँचपासको काम रोकिएको हैन, आयातकर्ताहरुले भन्सार तिरेर बसे, आईसीपी खुलेपछि गाडी छुट्यो’ उनले भने ।

आइतबार ७२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १६ करोड ६८ लाख मात्रै उठेको उनले बताए । ‘आईसीपीको आन्दोलनले नभएर कारोबारमा आएको कमीले राजस्वमा असर परेको हो’ भन्सार अधिकृत ढकालले भने ।साभार:अनलाइनखबर

Related posts

राष्ट्र बैंकले ल्याएको चालू पूँजी कर्जा मार्गदर्शन प्रति वीरगन्जको नीजी क्षेत्र असन्तुष्ट

MadhesKhabar

वीरगन्जको आन्तरिक राजस्व कार्यालयबाट छिटोछरितो सेवा प्रवाह गर्ने प्रमुख चौलागाईको प्रतिबद्धता

MadhesKhabar

पर्सामा महिला उद्यमीकाे संख्या बढ्दै

MadhesKhabar

Leave a Comment