Madhes Khabar
अर्थतन्‍त्र

नेपालले ६ महिनामै बेच्यो अमेरिकालाई १ अर्ब १४ करोड रुपैयाँकाे छुर्पी

काठमाडौं,९फागुन :गत साउनदेखि पुस मशान्तसम्म नेपालबाट ५ लाख ७८ हजार ८४१ किलो छुर्पी अमेरिकामा निर्यात भएको छ । यसको मूल्य एक अर्ब १४ करोड रुपैयाँ रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपालको छुर्पीको बजार यतिमा मात्रै सीमित छैन । मन्त्रालयका अनुसार साउनदेखि पुससम्म नेपालले एक अर्ब ३४ करोड ७१ लाख ७७ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । नेपाली व्यवसायीले क्यानडा, जापान, बेलायत, हङकङ, सिंगापुर, कोरिया, ब्राजिलसहित २४ देशमा छुर्पी बिक्री गरेका छन् ।

तरकारीदेखि खाद्यान्नसम्म आयात गरेर खाने नेपालले ५ वर्षअघिसम्म ८५ करोड हाराहारीको छुर्पी बेच्थ्यो । अहिले ६ महिनामै डेढ अर्ब भन्दा बढीको छुर्पी बिक्री गर्न सक्नु राम्रो भएको ब्यवसायीहरु बताउँछन् । एउटै मुलुकमा ६ महिनामै एक अर्ब हाराहारीको छुर्पी निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा नेपालले १६ वटा मुलुकमा ८५ करोड ७९ लाख ३२ हजार रुपैयाँको छुर्पी निर्यात गरेको थियो । त्यतिबेला अमेरिकामा ७७ करोड ७१ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो । त्यसपछिको हरेक वर्ष बढ्दो क्रममा रहेको छुर्पीको निर्यात गत वर्ष २ अर्ब ९१ करोड १९ लाख रुपैयाँको पुग्यो ।

आर्थिक वर्ष ०७५/७६ मा नेपालबाट एक अर्ब ५ करोड २८ लाखको छुर्पी निर्यात भएको थियो । ०७६/७७ मा एक अर्ब २८ करोडको र २०७७/७८ मा एक अर्ब ९६ करोड ५० लाख ४५ हजार रुपैयाँको छुर्पी निर्यात भएको थियो ।

त्यस्तै २०७८/७९ मा हालसम्मकै उच्च २ अर्ब ९१ करोड १९ लाख रुपैयाँको छुर्पी नेपालबाट निर्यात भएको थियो । साउनयताको ६ महिनामा एक अर्ब ३४ करोड ७१ लाख ७७ हजारको छुर्पी निर्यात हुँदा यो वर्ष हालसम्मकै धेरै मूल्यको छुर्पी निर्यात हुने अनुमान गरिएको छ ।

अमेरिकापछि नेपाली छुर्पीको दोस्रो ठूलो बजार क्यानडा हो । चालु आर्थिक वर्षमा क्यानडामा १३ करोड ८३ लाख रुपैयाँको ६९ हजार किलो छुर्पी निर्यात भएको छ । छुर्पीको तेस्रो ठूलो बजार बेलायत हो । मन्त्रालयका अनुसार अहिले नेपालले ताइवान, फ्रान्स, स्लोभाकिया, ब्राजिल, फिनल्याण्ड, बेलारुसदेखि ताइवान, थाइल्याण्ड, फिलिपिन्स लगायतका मुलुकहरुमा छुर्पी निर्यात भइरहेको छ ।साभार:अनलाइनखबर

Related posts

वीरगन्ज नाका हुँदै २ महिनामै भित्रियो २५ करोड बढीको विदेशी रक्सी

MadhesKhabar

वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

MadhesKhabar

डस्टी कार्गो ढुवानीको समस्या सामधान गर्न उधोगमन्त्री बडुसंग वीरगन्जका उद्योगीहरुको आग्रह

MadhesKhabar

Leave a Comment