Madhes Khabar
प्रविधि हेडलाइन

वीरगञ्ज कृषि औजार कारखाना आविष्कार केन्द्रलाई हस्तान्तरण , तर अझ सरकारकै भर

माधुरी महतो
वीरगन्ज , १९ माघ  : करीब ३२ वर्षदेखी बन्द कृषि औजार कारखाना पुनः सञ्चालनमा आउने भएको छ ।तर, कारखाना सरकारले नभई राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गर्ने भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रको जिम्मा लगाएको जनाएको छ ।

आविष्कार केन्द्रले कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यसअघि नै हस्ताक्षर समेत गरीसकेका छन् ।

सम्झौतासँगै २८ फागुन २०२४ मा रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी आविष्कार केन्द्रका महावीर पुनले पाएका छन् । आर्थिक बर्ष २०७९÷८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालन गरिने घोषणाअनुसार नै आविष्कार केन्द्रलाई कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिइएको सरकारले जनाएको छ ।


कारखानाको मर्मत सम्भार र औजार थप गर्न तथा सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था पहिलो पटक सरकारले गर्नेछ । यस्तै आविष्कार केन्द्रले अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन एवम् आधुनिक कृषि औजार उत्पादन तथा बिक्री गर्न पाउनेछ ।

औजार बिक्रीबाट कर पश्चातको रकमको ५० प्रतिशत ‘राष्ट्रिय आविष्कार केन्द्र कोष’ खडा गरी त्यहाँ रहनेछ भने बाँकी ५० प्रतिशत वार्षिक रूपमा नेपाल सरकारको राजश्व खातामा जम्मा गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

कृषि औजार कारखाना के कारणले कसरी बन्द भयो

तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहदेवले उद्घाटन गरेको उद्योगको शिलान्यास तत्कालीन उद्योग वाणिज्य मन्त्री नागेन्द्रप्रसाद रिजालले २६ जेठ ०२३ मा गरेका थिए । पर्सा वीरगञ्ज–१४ मा स्थापित उद्योग सुरुका वर्षमा मुनाफामा नै सञ्चालनमा थियो ।

९० प्रतिशत जनता कृषि पेशामा निर्भर पनि थिए । कृषि क्षेत्रलाई आवश्यक पर्ने आधुनिक औजार उपकरण कारखानाले बनाउने गथ्र्यो । यसरी नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले तत्कालीन सोभियत संघ सरकारको सहयोगमा २०२४ सालमा वीरगञ्ज कृषि औजार कारखानाको स्थापना भएको थियो ।

९ विगाह ११ कठ्ठा क्षेत्रफलमा रहेको कारखानाले देशका विभिन्न स्थानमा बिक्री डिपो र डिलर राखेर कृषि औजार र यन्त्रहरु आपूर्ति गर्दथ्यो ।

तर वि.स.२०४६ सालको राजनीतिक परिवर्तन , खुल्ला सिमाना कारखाना निजी क्षेत्रलाई दिएपछि प्रभावकारी रुपमा संचालन गर्न नसक्नु लगायत विभिन्न कारणले कृषि औजार कारखाना धरासायी हुन पुग्यो

तर उत्पादकत्व बढाउन एवं कारखानालाई नाफामा सञ्चालन गर्न सरकारी उद्योगलाई निजीकरण गर्ने योजना अनुरूप २०५४ सालमा कारखाना निजीकरण गर्दै कारखानाको ६५ प्रतिशत शेयर बिक्री गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो तर त्योसफल हुन सकेन र २०५९ सालदेखि कारखाना पूर्ण रुपमा बन्द भएको कारखानाका पुर्व कर्मचारी एव् सुरक्षा प्रमुख मनोहर गौतम बताउँछन् ।


उनका अनुसार कारखाना बन्द भएको वखत १८० जना स्थायी कर्मचारी कार्यरत थिए ।तर केही कर्मचारीले कारखाना बन्द भएपनि अवकास लिन नमानेर करीब ५ वर्षसम्म आन्दोलन जारी राखेपछि नेपाल सरकारले विभिन्न समयमा थप सुविधा दिने निर्णय गरेपछि १७९ जना कर्मचारीहरुले आफूले पाउनुपर्ने सेवा सुविधा लिई सेवाबाट अवकास लिइसकेका छन् भने १ जना कर्मचारीले अवकास नलिएको र हाल सम्पर्कमा पनि नरहेको बताउँछन् ।

कारखानाको पहिले र हालको अवस्था

९ विगाह ११ कठ्ठा क्षेत्रफल जग्गामा रहेको कारखानाकोसम्पत्तिको संरक्षण तथा दायित्व फरफारक सम्बन्धी कार्य गर्नका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत १ जना नासु सरहको सुरक्षा इन्चार्ज तथा ६ जना जवान सुरक्षा गार्डहरु करार सेवा अन्तर्गत कार्यरत रहेका छन् ।

पक्की कम्पाउण्ड वालले घेरिएको तथा कारखाना परिसरभित्र मुल कारखाना भवन, प्रशासकीय भवन, स्टोर भवन र किर्लोस्कर पम्प बनाउने वर्कशप, बिक्री प्रदर्शन कक्ष भवन तथा सेक्युरिटी भवन रहेका छन् । त्यस्तै महाप्रबन्धक बस्ने ,अतिथि गृह, अधिकृत स्तरका ४ परिवार बस्ने क्वार्टर, सहायक स्तरका ११ परिवार बस्ने क्वार्टर रहेपनि अधिकांश जिर्ण अवस्थामा रहेको सुरक्षा ईन्चार्ज मनोहर गौतम बताउँछन् ।

सरसमानहरु तथा मिल मेसिनरीहरु कारखाना भवन तथा स्टोर भित्र जे–जस्तो अवस्थामा थिए, हालसम्म सोही अवस्थामा सुरक्षित साथ राखिएको सुरक्षा इन्चार्ज गौतमले भन्दै परिसर भित्रै जीर्ण अवस्थामा पुगेका ट्रक, सुजुकी जीप र पिकअप गरी ३ थान सवारी साधन छन् । विभिन्न ब्रान्डका ८ थान मोटरसाइकल काम नलाग्ने अवस्थामा पुगेको तथा अब सरकारले गर्ने निर्णय अनुसार कार्य प्रक्रिया अगाडी बढाउने उनी बताउँछन् ।

बन्द हुनु अघिसम्म कारखानाले हँसिया, खुर्पी, कुटो, कोदालोका साथै विद्युत् प्राधिकरणका लागि पोल, तत्कालीन यातायात संस्थानका लागि ट्यांकर, तत्कालीन शाही नेपाल वायु सेवा निगमका लागि जहाज चढ्ने सिँढी, यात्रुको सामान ओसार्ने ट्रली ,सवारी साधनका पाटपुर्जा पनि उत्पादन गरेको गौतम बताउँछन् ।

हाल सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई कारखाना सञ्चालनको जिम्मा दिन थालेपछि केन्द्रले गरेको स्थलगत अध्ययन अनुगमन निरिक्षणको क्रममा त्यस कारखानाभित्र रहेका कुल ५४ वटा उपकरण मध्ये ५० प्रतीशत उपकरण काम लाग्ने खालका,२५ प्रतीशत मर्मत सम्भार गर्नुपर्ने तथा २५ प्रतीशत कामै नलाग्ने अवस्था रहेको आविष्कार केन्द्रका महाविर पुनले बताए ।

उनका अनुसार सरकारले दिएका जिम्मेवारी अनुसार पहिलो चरणको काम उपकरण,कारखाना तथा कारखाना परिसरको सरसफाई गरिनुका साथै उपकरणहरुको अवस्थाबारे अध्ययन ,अनुगमन गरी स्टिमेट रिपोर्ट निकालेर सरकारलाई बुझाईसकिएको बताए ।


कारखाना भित्र रहेका औजारहरु मध्ये कतिजति बनाउन सकिने वा सबै बनाउनुपर्ने कुरामा अध्ययन अनुसन्धान गरी पुराना औजारहरु पुन बनाउने र हाल कृषिमा आधुनिकीरकणका लागि कृषकको माग अनुसारको नयाँ नयाँ औजार बनाउनुपर्ने योजनामा आफुहरु रहेपनि आविष्कार केन्द्रले पठाएको रिपोर्ट सरकारले अध्ययन गरेर यसपछिका प्रक्रियाका लागि आधिकारीकता प्रदान गरे कार्य सुरु गर्ने पुन बताउँछन् ।

सिभिल, भवन, विद्युत् र मेकानिकल सबै संचालित अवस्थामा फर्काउन उद्योगमा थप लगानी गर्नुपर्ने रकम २० करोड रुपैयाँ भन्दा बढी रहेको आविष्कार केन्द्रले जनाएको छ ।

बन्द हुनु अगाडिसम्म यसले वार्षिक साढे ७ करोड रुपैयाँको उपकरण उत्पादन गरेको कृषि विकास मन्त्रालयको तथ्यांकले देखाउँछ भने कारखाना बन्द भएपछि वार्षिक ७ देखि ८ हजार ट्याक्टर, पुर्जा, २ हजार ५ मिनी टिलर, ५ हजार ५ सय पावर टिलर र करिब ३० हजार थान थ्रेसर आयात हुने गरेको पनि मन्त्रालयको तथ्यांकमा छ।

देशकै लागि महत्वपुर्ण योजनामा सरकारको अन्योलताले पारेको प्रभाव
प्रतीनीधीसभा र प्रदेश सभाका चुनाव भन्दा अगावै आविष्कार केन्द्रले आफ्नो पहिलोे चरणको कार्य सकाएर सरकालाई दोश्रो चरणका कार्य अनुमतीका लागि बुझाएको रिपोर्टमा चुनाव सकेपनि सरकारबाट विलम्ब भईरहेको तथा कार्य अगाडी बढ्न नसकेको र अब बनेको सरकारले सम्झौता प्रक्रिया के गर्ने भन्ने बारेमा अन्योल रहेको कारणले पनि हस्तान्तरण प्रक्रियामा ढिलाई भईरहेको हो की भन्ने उनको भनाई छ ।

तर केही दिन अघि मात्रै पर्सा क्षेत्र नम्बर १ बाट प्रतीनीधी सभा सदस्यमा निर्वाचित सांसद प्रदीप यादवले भने कारखाना संचालन प्रती चासो देखाएका छन् । उनले अनुगमन समेत गरेका थिए ।

यसले पार्ने सकारात्मक प्रभाव

यसअघि कृषि उपकरण स्वदेशमै उत्पदान हुँदा कृषकहरु सबै भन्दा बढी लाभान्वित भएका थिए । कृषि उपकरण स्वदेशमै उत्पादन हुन थाले, त्यसको लाभ अब पनि सबै भन्दा बढी किसानलाई नै हुने पुनले बताए । यस बाहेक ठूलो संख्यामा स्थानीय युवाले उद्योगमा रोजगारी पनि पाउने उनी दाबी गर्छन् ।

पुन भन्छन् ,“सरकारले समयमा निर्णय लिन सकेको भए अझ धेरै सामान र उपकरणको संरक्षण गर्न सकिन्थ्यो तर ३२ वर्षमा कृषि क्षेत्रमा भएको परिवर्तनले अहिले फेरी त्यो भन्दा बढी आधुनिकिकरणका साथ कार्य गर्ने मौका पाएका छौँ । अब पनि समय छँदै सरकारले आविष्कार केन्द्रलाई बाँकी कार्यका लागि पनि जिम्मा दिन सके देश विकासमा टेवा पुग्नुका साथै कृषक लगायत यहाँका आम मानिसहरुका लागि पनि रोजगारीको अवसर समेत सिर्जना सक्ने अवस्था छ । ”


२०४५ सालदेखी कारखाना बन्द हुने बेलासम्म कारखानामा ७२ रुपैया दैनिक ज्यलादारीमा काम गरेका लालबाबु प्रसाद कुर्मी हाल कारखानाकै सुरक्षा गार्डको रुपमा करारमा कार्यरत छन् । उनले यो कारखाना बन्द हुँदाको पिडाले कारखानामा आश्रित धेरै परिवारको विच्चली भएको थियो र हालसम्म पनि त्यस्ता कैयन परिवारमा खुशीयालि फर्केर आउन नसकेको उनी बताउँछन् ।

तर हाल कारखाना संचालनमा आउने खबरले दैनिक रुपमा युवादेखी वृद्ध उमेरसम्मका स्थानीयवासीहरु कारखानाको गेट अगाडी आएर कारखाना संचालन कहिले देखी हुने भन्ने प्रश्न सोध्ने गरेको तथा कारखाना संचालनको आशामा बसेको कुर्मी बताउँछन् ।

वीरगन्जका विभिन्न संस्थाका सदस्य, विद्यार्थी, स्थानीयवासिन्दा गरी लगभग ३ सयभन्दा बढीले पहिलो चरणको कार्य सम्पन्नका लागि श्रमदान गरेका थिए।

Related posts

व्याक्तिगत रिसबी साँध्न अफवाह फैलाउनेलाई कानुनी उपचार हुन्छ : मेयर सिंह

MadhesKhabar

वीरगंजमा यौनिक तथा अल्पसंख्यक समुदायका हक अधिकारे बारे अन्तरक्रिया सम्पन्न

MadhesKhabar

महागढीमाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी आन्दोलनको तयारीमा

MadhesKhabar

Leave a Comment