मधेसखबर
वीरगन्ज ,१७पुस : अङ्ग्रेजी नयाँ वर्ष २०२३ मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले पर्साकाे पर्यटकीयस्थल ठोरी आइतबार दिनभर नै भरिभराउ देखियाे।अङ्ग्रेजी नयाँ वर्ष मनाउन ठोरी आउने पर्यटकहरु बिहान ८ बजेदेखि नै ठोरी आउने क्रम थियो भने साँझसम्म पनि स- परिवार पिकनिक मनाउन आउनेको क्रम उत्तिकै देखिन्थ्यो।नेपालको बारा,पर्सा ,रौतहटदेखि पिकनिक मनाउन आन्तरिक पर्यटकहरू आएका थिए भने भारतको राजेस्थानदेखिका पर्यटकहरु शनिबारदेखि नै ठोरी आएर रात बसेको स्थानीय होटल व्यवसायी दिनेश नेपालले बताए।
भारतको बिहारकाे पटना,मोतीहारी,मुजफ्फरपुर ,नरकटीयागंज,बेतिया देखि उत्तर प्रदेश बाट पनि स- परिवार सहित नयाँ वर्ष मनाउन ठोरी आएका थिए।नेपालको दृश्य आफूहरुलाई मनपर्ने र ठोरीको पहाड,नदी वनजंगल मनपर्ने भएको हुँदा करिब ८ बर्ष अघिदेखि नयाँ वर्ष मनाउन ठोरी आउने गरेको मोतीहारीका राहुल गुप्ताले बताए।आफ्नो तिर नदी,पहाड नभएको र ठोरी आउँदा सबै देखिन पाइने भएको हुँदा आफूहरु ठोरी आउने गरेको बेतियाबाट ठोरी घुम्न आएका राजन कुमार श्रीवास्तवले बताए।
ठोरीलाई अझै पार्कको रुपमा बिकास गर्न सके र पर्यटकीय क्षेत्रमा बिकास गर्ने हो भने ठोरीले मुहार फेर्ने समेत श्रीवास्तवले बताए।पर्यटकहरुलाई लोभ्याउन सक्ने स्थानहरु ठोरीमा प्रशस्त भएको बताउँदै यसको बिकास गर्न सके पर्यटकहरुको रोजाइमा ठोरी पर्ने समेत श्रीवास्तवले बताए।
पिकनिक खान र घुम्न आउने पर्यटकहरुका कारण ठोरीको राइधारा गणेशमान पार्क,ठुटेखोला,रानीबन,चिसापानी,कृष्ण मन्दिरको चौर,सीतागुफा पूर्वको खोला ,गोलेडाँडा लगायतका स्थानहरु आइतबार भरिभराउ देखिन्थ्यो।ठोरीमा रहेको ठोरी जंगल रिसोर्ट ,द फुड स्याक रेष्टुरेन्ट ,न्यु स्टार होटल ठोरी माउन्ट भ्यु रिसोर्ट ,प्रकाश होटल तथा ठोरीका स साना होटलहरका आकर्षणले पनि पर्यटकहरूलाई आकर्षण गर्ने गरेको छ।झुलुङ्गेपुल,सीतागुफा,बुद्ध टिकटक स्टोन पार्क तथा विभिन्न मठ मन्दिरमा पनि घुम्न आउनेहरुको अत्यन्तै भिडभाड नै देखिएको थियो।
अङ्ग्रेजी नयाँ वर्षमा हजारौंको संख्यामा ठोरी आउने पर्यटकहरुको शान्तिसुरक्षाको निम्ति इलाका प्रहरी कार्यालय ठोरी,सीमा चौकी बुद्धनगर,बिजयबस्ती चौकी र सुवर्णपुर चौकी लगायतबाट पनि प्रहरी अधिकारीहरु सहित प्रहरीहरुले बिहानदेखि नै शान्ति सुरक्षा प्रदान गरिरहेको र जिल्ला प्रहरी कार्यालय पर्साबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी खटिएकाे इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। त्यस्तै पर्यटकहरुको शान्ति सुरक्षाको निम्ति सशस्त्र प्रहरीहरु पनि खटिएकाे सशस्त्र प्रहरी निरीक्षक नारायण सेढाईले जानकारी दिए।

