
वीरगञ्ज,१० फागुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई तीव्रता दिएका छन्।
आइतबार उनले पर्सागढी नगरपालिका–९ का बडेर्वा र तेलिया तथा वडा नम्बर–७ फुलवारीयामा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरे। घरदैलोका क्रममा उनले घण्टी चुनाव चिन्हमा मतदान गरी देशलाई सही दिशामा अघि बढाउन सहयोग गर्न आग्रह गरे।
कानुले विगतका सरकारहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै अब नयाँ सोच र स्वच्छ राजनीतिक संस्कार आवश्यक रहेको बताए। उनले दीर्घकालीन रूपमा देखिँदै आएका स्थानीय समस्याहरू—विशेषगरी कृषि क्षेत्रमा जङ्गली जनावरबाट हुने क्षति—समाधानका लागि प्रभावकारी नीति, उचित क्षतिपूर्ति र दीर्घकालीन कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।
निर्वाचित भए महिलाहरूलाई लक्षित गर्दै घरमै बसेर सिक्न सकिने कृषि, पशुपालन, सिलाइ–कटाइ लगायतका सीपमूलक तालिम सञ्चालन गरिने उनको योजना छ। “महिला, युवा र किसान सशक्त भए मात्र समाज र राष्ट्र समृद्ध हुन्छ,” उनले बताए।
कार्यक्रममा स्थानीयवासीहरूले क्षेत्रका आधारभूत समस्या उठाउँदै परिवर्तनको अपेक्षा व्यक्त गरेका थिए। सहभागीहरूले कानुलाई जनताको कुरा प्रत्यक्ष सुन्ने र स्पष्ट एजेन्डासहित अघि बढेका उम्मेदवारका रूपमा उल्लेख गरेका छन्।


