वीरगन्ज,१४साउनःवीरगन्ज नाकाबाट विदेशमा कुकुर र बिरालोको खानाका रुपमा प्रयोग गरिने छुर्पीको निर्यात ह्वात्तै बढेको छ ।
वीरगन्ज नाका हुदैं गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १ अर्ब २० करोड रुपैयाँ मूल्य बराबरको ६ सय ८० मेट्रिक टन छुर्पी तेस्रो मुलुकहरुमा निर्यात भएको छ ।
जबकि अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने वीरगन्ज नाका हुदैं ६८ करोड रुपैयाँ मूल्य बराबरको ३ सय ७५ मेट्रिक टनमात्रै छुर्पी तेस्रो मुलुकहरुमा निर्यात भएको थियो ।त्यसअघिको आर्थिक वर्ष २०७९/८० मा भने वीरगन्ज नाका हुदैं २६ करोड ६३ लाख रुपै्रयाँ मूल्य बराबरको २ सय ६८ मेट्रिक टन छुर्पी विदेशमा निर्यात भएको थियो ।
वीरगन्ज नाका हुदैं गत आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा ७६ प्रतिशतले बढी अर्थात ५२ करोड बढी मूल्यको छुर्पी विदेशमा निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालको इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटालगायतका पहाडी जिल्लाहरुमा उत्पादित छुर्पी वीरगन्ज नाकाबाट विददेशमा निकासी हुने गरेको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी अमित तिवारीले बताए ।
नेपालमा उत्पादित छुर्पी अमेरिका, अस्ट्रेलिया, क्यानडा,ब्राजिल, चीन, चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, ग्रिस,बलायत,इटाली,न्युजिल्यान्ड,नेदरल्यान्ड,जापान लगायत २७ वटा मुलुकमा निर्यात हुने गरेको छ ।त्यसमापनि सबै भन्दा बढी निर्यात अमेरिकामा हुने गरेको तिवारीले बताए ।
तेस्रो मुलुकहरुमा घरपालुवा कुकुर र बिरालोले नेपाली छुर्पीको स्वाद रुचाएपछि नेपालबाट छुर्पीको माग बढ्दै गएको हो । भन्सार बिन्दुबाट छुर्पी ‘कुकुर वा बिरालोको खाना’ शीर्षकमा विदेशमा निकासी हुन्छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी तिवारीले विदेशमा घरमा कुकुर र बिरालो पाल्नेहरुले नेपाली छुर्पीलाई मासुको विकल्पको रूपमा प्रयोग गर्ने गरेको छ । उनका अनुसार, चौपायाको हड्डी भन्दा छुर्पी नरम हुने तथा कुकुर र बिरालोले स्वादिलो मानेर खाने गरेकाले नेपाली छुर्पीको माग तेस्रो मुलुकमा बढ्दै गएको हो ।

