Madhes Khabar
शिक्षा हेडलाइन

शिक्षकहरुले सिडिओलाई चाबी बुझाएपछि बहुदरमाईका विद्यालय १० दिनदेखि बन्द

वीरगन्ज,१५माघ:तलब नपाएको भन्दै आन्दोलित शिक्षकहरूले विद्यालयको चाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाएपछि १० दिनदेखि पर्साको बहुदरमाई नगरपालिकाका सबै सामुदायिक विद्यालयमा पढाइ ठप्प भएको छ ।

 

सात महिनादेखि तलब नपाएकाले जीविकोपार्जनमै कठिनाइ भएको भन्दै गत माघ ६ देखि बहुदरमाई नगरपालिका मातहातका २० वटा सामुदायिक विद्यालयका शिक्षकले विद्यालय बन्द गरी चाबी प्रजिअ गणेश अर्याललाई बुझाएका हुन् ।

विद्यालय बन्द गरेको १० ओैं दिन बित्दा पनि समस्या समाधान भएको छैन । शिक्षकले नियमित तलब नपाउँदा विद्यालयको शैक्षिक गतिविधि बिग्रिएको भन्दै विद्यार्थीसहितकाे समूहले गत पुस ५ मा बहुदरमाई नगरपालिकाको कार्यालयमा तोडफोड, तथा आगजनी गरेका थिए । तोडफोड तथा आगजनीमा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको थियो ।

 

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले तलब पाएका छैनन् । नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भए पनि मेयर सिंघासन साह तेलीले त्यसलाई प्रमाणीकरण नगर्दा बजेट निकासा भएको छैन । गत कात्तिक ८ मा बहुदरमाई नगरपालिकाको बजेट प्रस्तुत भएको थियो ।

 

नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवका अनुसार पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर विद्यालयको साँचो बुझाउनु परेको थियो । ‘विद्यालय बन्द भएको नवौं दिन बित्दा पनि समस्या समाधानतर्फ सरोकारवाला पक्ष अग्रसर भएका छैनन्,’ उनले भने, ‘स्थिति झन् विकराल बन्दै गएको छ ।’

चालु आर्थिक वर्षको सातौं महिना पुग्दा पनि बहुदरमाई नगरपालिकाको बजेट प्रमाणीकरण भएको छैन ।मेयर साहले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदा बजेट निकासा हुन नसकेको हो ।

स्थानीय सरकार सञ्चालन ऐनबमोजिम असार १० सम्म आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । तर, बहुदरमाईको २०८१/८२ को बजेट निर्धारित समयभन्दा झन्डै चार महिनापछि गत कात्तिक ८ गते ११ औँ नगरसभामा प्रस्तुत भएको थियो । तर, नगरसभा सम्पन्न भएको करिब तीन महिना बित्दा पनि मेयर साहले बजेट खर्चको अख्तियारी दिएका छैनन् ।भूषण यादव/कान्तिपुर

Related posts

वीरगन्जमा दशैं मेला (फोटो फिचर)

MadhesKhabar

जेनजी आन्दोलनपछि संकटमा परेकाे वीरगन्ज महानगरलाई विभिन्न संघ–संस्थाद्वारा सहयोग

MadhesKhabar

वीरगन्जका नीजी विधालय विरुद्ध अभिभावकको आन्दोलन निरन्तर, मोटरसाइकल जुलुश प्रदर्शन

MadhesKhabar

Leave a Comment