Madhes Khabar
स्वास्थ्य

वीरगन्जको अठराहाँमा ९१ जनामा देखिएको रोग चिकेनपक्स भएको पुष्टि

वीरगन्ज,२९ मंसिर : वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहाँमा दादुरा र ठेउला जस्तै लक्षण देखिएका बिरामी चिकेनपक्सको संक्रमित भएको पाइएको छ ।दादुराको लक्षणसँग मिल्दोजुल्दो बिरामी देखिएको खबर आएसँगै महानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाबाट ल्याब सहित खटिएको स्वास्थ्यकर्मीको टोलीले त्यहाँ देखिएका बिरामी चिकेनपक्सको संक्रमित भएको पुष्टि गरेको हो ।

चिकेन पक्स सरुवा रोग भएको र यो हरेक वर्ष जसो छिटफुट व्यक्तिमा देखिने गरेको महानगरका जनस्वास्थ्य निरीक्षक सुनिल कुर्मीले जानकारी दिए ।‘अठराहाँमा दादुराका धेरै बिरामी भेटिएको भन्ने खबर आयो,’ कुर्मीले भने, ‘खबर आएसँगै महानगरको स्वास्थ्यकर्मीको टोली ल्याबसहित पुगेर बिरामीको स्क्रिनिङ, रोगको इतिहास र शारिरिक परीक्षण गर्दा चिकेनपक्स भएको पुष्टि भयो ।’

वडा नम्वर २६ को सुगौली स्वास्थ्य चौकीमा पछिल्लो केही दिनदेखि यस्ता बिरामीहरु उपचारका लागि आउने गरेका थिए । त्यस क्षेत्रमा बिहीबार सम्म ९१ जनामा यस्तो लक्षण भएकाहरु उपचारका लागि स्वास्थ्य चौकीमा आएको स्वास्थ्य चौकी इन्चार्ज पुजा गुरुङले जानकारी दिइन् ।७५ जनामा संक्रमण निको भइसकेको र बाँकी बिरामीको अवस्था पनि सामान्य रहेको उनले बताइन् ।

ठूलै संख्यामा दादुरासँग लक्षण मिल्ने बिरामी भेटिएपछि आफूले थप सहयोगका लागि स्वास्थ्य महाशाखामा जानकारी गराएको उनले बताइन् । जानकारी पाएसँगै पुगेको टोलीले घरघरमै पुगेर बिरामीलाई भेट्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था परीक्षण गरेको थियो ।टोलीले स्थानीय जम्मा गरेर चिकेनपक्स बारेमा स्वास्थ्य चेतना जगाउने काम गर्नुका साथै स्वास्थ्य स्वंयसेवीहरुलाई टोलटोलमा परिचालन गराएको छ ।

विगतका वर्षमा छिटफुटमा देखिएको यो बिरामीको संख्या वीरगञ्जमा एउटै ठाउँमा यति धेरै संख्यामा भने पहिलो पटक देखिएको जनस्वास्थ्य निरीक्षक कुर्मीले बताए ।चिकेनपक्स विशेषगरेर २ वर्षदेखि १० वर्ष उमेर समुहका बालबालिकामा देखिने गरेको भए पनि यहाँ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देखिएको छ ।

Related posts

पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

होल्डिंग सेन्टर हस्तान्तरणमा अन्योलताका कारण बनिसकेपनि प्रयोग विहीन

MadhesKhabar

कोरोना :नेपालमा फेरि खतराको घण्टी ,दुइ दिनमा दुइ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment