वीरगन्ज,३०साउनःपर्सा जिल्लामा यसवर्ष कालाजारको पहिलो बिरामी भेटिएका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ४० वर्षीय पुरुषमा कालाजरको संक्रमण पुष्टि भएको हो ।
ती पुरुष चालु आर्थिक वर्षमा पर्सा जिल्लामा कालाजारको पहिलो बिरामी भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए । उनका अनुसार, गत आर्थिक वर्षमा पर्सा जिल्लामा कालाजारको एक जनामा मात्रै संक्रमण भेटिएको थियो ।
अहिले कालजारको संक्रमण पुष्टी भएका वीरगन्ज–२७ का ४० वर्षीय पुरुष रोजगारीका शीलशीलामा दुई महिनापहिले भारतको गुजरात गएका थिए । त्यहाँ उनलाई साँझको समयमा पटक ज्वरो आउने लगायतका लक्षण देखिएपछि घर फर्किएका थिए ।यहि साउन ८ गते स्वास्थ्य उपचारका लागि वीरगन्ज–१५ स्थित तराई हस्पिटलमा पुगेका उनको स्वास्थ्य परीक्षणका क्रममा उनमा कालाजारको संक्रमण पुष्टि भएको थियो ।त्यसपछि स्वास्थ्य कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाका स्वास्य शाखाका स्वास्थ्यकर्मीको टोली तराई हस्पिटलमा पुगेर पुन परीक्षण गर्दापनि कालाजारको संक्रमण भएको पुष्टि भएको थियो ।
आर्थिक अवस्था कमजोर रहेका ती पुरुषको उपचारमा आवश्यक सुई र औषधि प्रादेशीक स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र जनकपुरबाट झिकाएर उपचार गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । हाल घरबाटै उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको ठाकुरले जानकारी दिए ।
चालु आर्थिक वर्षको पहिलो महिनामै जिल्लामा कालाजारको संक्रमित भेटिएपछि स्वास्थ्य कार्यालयले स्थानीय तहसंग समन्वय गरेर कालजार, मलेरिया,डेंगी लगायतका कीटजन्य रोगको रोकथााम र नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
कालाजारलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस, ब्ल्याक फिबर वा डमडम फिबर भनेरपनि चिनिन्छ। स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो रोग लाग्ने गर्दछ। परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ।
कालजार रोगका मुख्य लक्षणहरू पटक पटक ज्वरो आउनु, तौल घट्नु, थकान महसुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु इत्यादि हुन्। कालाजारको संक्रमण भएपछि समयमै उपचार गरिएन भने प्राय सबै बिरामीको मृत्यु हुन्छ।
हालसम्म कालाजार लाग्नबाट बचाउने कुनै खोप वा औषधि नभएको चिकित्सकहरु बताउँछन् । स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइबाट बच्नु नै यसको संक्रमणबाट बच्ने प्रभावकारी उपाय हो। भुसुनाको टोकाइबाट बच्न शरीरको धेरै भाग छोप्ने कपडा लगाउने, खुल्ला झ्यालढोकामा जाली लगाउने,सुत्ने वा विश्राम गर्ने स्थानमा कीरा मार्ने विषादी छर्कने,सुत्दा सकेसम्म झुलको प्रयोग गर्ने जस्ता उपायहरु अपनाउनुपर्छ ।

