Madhes Khabar
खेलकुद

विश्वकप फुटबलमा आज ब्राजिल र क्राेएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड भिड्दै

वीरगन्ज,२३ मंसिर : कतारमा जारी विश्वकप फुटबलमा आज (शुक्रबार ) बाट क्वार्टरफाइनलका खेलहरु हुँदैछन् । पहिलो खेलमा आज उपाधीको दाबेदार मानिएको ब्राजिल र साबिक उपबिजेता क्रोएसिया बिच प्रतिस्पर्धा हुनेछ । यी दुई बिचकाे खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे हुनेछ । त्यस्तै आजकाे दोस्रो खेलमा राती पौने १ बजे उपाधीको दाबेदार अर्जेन्टिनाले नेदरल्यान्डको सामना गर्नेछ ।

ब्राजिललाई युवा खेलाडीको भरोसा

नेयमार चोटमुक्त हुँदै फर्केपछि ब्राजिल उत्साहित छ  । पहिलो खेलमा एङ्कलमा चोट बोकेपछि नेयमारले समूह चरणका दुई खेल गुमाउनु परेको थियो । नेयमार प्रेरित ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ ले सजिलै हराएको थियो । ब्राजिलले पहिलो ४५ मिनेट निकै आक्रामक फुटबल खेलेको थियो । अहिलेको ब्राजिली टिमको तुलना सन् १९७० को पेलेको टिमसँग तुलना हुन थालेको छ ।

 

अब ब्राजिलले सन् २०१८ को उपविजेता क्रोएसियाको सामना गर्दा अन्तिम १६ मा जस्तै राम्रो फुटबल खेल्न कठिन हुनसक्छ । तर यसपटक ब्राजिलका युवा खेलाडीले निकै राम्रो खेलिरहेका छन् । भिनिसियस् जुनियर, लुकास पाक्वेटा, राफिन्हा, रिजार्डलिसन् लगाएतका युवा खेलाडी ब्राजिलका भरोसा हुन् ।

 

क्रोएसियाले चार वर्षअघि फाइनल यात्रा तय गरेको थियो, अहिले पनि उसको खेल राम्रो छ । अन्तिम १६ मा जापानविरुद्ध क्रोएसिया टाइब्रेकरमा विजयी भएको थियो । यसपालि पनि क्रोएसिया पूर्णतः लुका मोड्रिचमा केन्द्रित छ । क्रोएसियालाई अनुभवि खेलाडीको भर छ । मोड्रिचसँगै मार्सेलो ब्रोजोभिच र मटेयो कोभचिचको मिडफिल्ड कतार विश्वकपमा राम्रो प्रभाव बनाउन सफल छ ।

हेड टु हेड

ब्राजिल र क्रोएसिया बिच यसअघि चार खेल भएका छन् । जसमा ब्राजिल ३ खेलमा विजयी भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ । यी दुई टोलीले पछिल्लो पटक सन् २०१८ को विश्वकप अघि मैत्रीपूर्ण खेल खेलेका थिए । जसमा ब्राजिल २–० ले विजयी भएको थियो । २००६ र २०१४ को विश्वकपमा पनि ब्राजिलले क्रोएसिया माथि जित निकालेको थियो । सन् २००५ मा भएको पहिलो मैत्रीपूर्ण खेलमा भने दुई टोलीले १–१ को बराबरी खेलेका थिए ।

मेस्सी प्रेरित अर्जेन्टिना

अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलोपल्ट विश्वकप फुटबलको उपाधी जितेको थियो । सन् २०१४ मा पनि अर्जेन्टिनाले डच टिमको चुनौती पन्छाउँदै फाइनलमा स्थान बनाएको थियो । त्यसअघि सन् १९९८ मा अर्जेन्टिनालाई हराएर नेदरल्यान्ड्स सेमिफाइनल पुगेको थियो । नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा पछिल्ला तीन खेल नै जितेको छ ।

प्रतियोगितामा एक पेनाल्टीमा चुके पनि तीन गोल गरेका ३५ वर्षीका मेस्सी उत्कृष्ट लयमा छन् । उनलाई एन्जल डि मारिया, जुलियन अल्भारेज, लौटारो मार्टिनेज लगाएत खेलाडीको साथ रहनेछ । मार्टिनेजमा पर्याप्त खेल्ने अवसर पाएका छैनन् भने अल्भारेजको खेल निकै राम्रो देखिएको छ । डि मारिया अन्तिम १६ को खेलमा बेन्चमा थिए । आज उनि खेलमा फर्किने र उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । विपक्षी डिफेन्डर मेस्सीलाई रोक्न प्रयत्नसिल रहँदा त्यसको फाईदा अल्भारेज र डि मारियाले लिन सक्छन् ।

 

मेस्सीले विश्वकपबाहेक सबै प्रतियोगिताको उपाधि जितेका छन् । सम्भवत अन्मित विश्वकप खेलिरहेका मेस्सीका लागि यसपटक उपाधी जित्ने राम्रो अवसर छ । तर समूह चरणको खेल हेर्दा अर्जेन्टिनाको उपाधी दाबेदारी बलियो देखिएको छैन । अन्मित १६ मा पोल्यान्डलाई हराउँदा भने टोलीको खेलमा केही सुधार देखिएको थियो । त्यही लयलाई कायम राख्न सके अर्जेन्टिनाले सेमिफाईनलको यात्रा तय गर्न सक्छ । तर भान डाईक नेतृत्वको नेरदल्यान्डस् डिफेन्स तोड्न मेस्सी र उनका साथी खेलाडीलाई सहज भने छैन ।

हेड टु हेड

अर्जेन्टिना र नेदरल्यान्डस् बिच हालसम्म नौ खेल भएका छन् । जसमा चार नेदरल्यान्डस्ले जितेको छ भने तीन खेलमा अर्जेन्टिना विजयी भएको छ । दुई खेल भने बराबरीमा सकिएको थियो । दुई टोली बिचको अन्तिम भेट सन् २०१४ विश्वकपको सेमिफाइनलमा भएको थियो । त्यसमा अर्जेन्टिना टाईब्रकेरमा विजयी भएको थियो ।साभार:सिआइएन

Related posts

भारतलाइ हराउदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

इंग्ल्यान्डलाई हराउँदै भारत छैटौँ पटक बन्यो यु–१९ विश्व च्याम्पियन

MadhesKhabar

भारत–पाकिस्तान तनावले स्थगित आईपीएल चाँडै सुरु हुने, बीसीसीआईले नयाँ मिति घोषणा गर्ने

MadhesKhabar

Leave a Comment