Madhes Khabar
राजनीति

राैतहट ३ मा प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

मधेसखबर
वीरगन्ज ,२७ असाेज :रौतहट-३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) ले दिएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका प्रुभ साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ।

एमालेको टिकट पाएका साहले अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएपछि उक्त क्षेत्रमा एमाले उम्मेदवारविहीन बनेको छ। स्वतन्त्र उम्मेदवारी दिएसँगै साहले एमालेमा नरहेको घोषणा गरिसकेका छन्। उनी एमाले स्थायी कमिटी सदस्य थिए।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले रौतहट-३ मा आफ्नो पार्टीका उम्मेदवार रहे पनि गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिए।

रौतहट-३ मा सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए।

‘साहलाई समर्थन गर्ने औपचारिक सहमति भइसकेको छ। हाम्रा उम्मेदवारसँग हामीले कुराकानी गरिरहेका छौं, उहाँको राजनीतिक समर्थनमा उम्मेदवारी निष्क्रिय हुन्छ,’ पुनले भने।

यसअघिका तीन वटा निर्वाचन माओवादी केन्द्रबाट जितेका साह आफ्नो क्षेत्रमा बलियो प्रभाव राख्छन्। सोही क्षेत्रमा पर्ने मौलापुर नगरपालिकामा उनकी श्रीमती रिना साहले यसपालि दोस्रो पटक मेयर जितेकी छन्। २०७४ को चुनाव माओवादीबाट जितेकी उनी यसपालि एमालेबाट विजयी भएकी हुन्।

सशस्त्र युद्धका बेला नै भूमिगत भएका साह २०६४ र २०७० को संविधान सभामा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ को चुनाव पनि उनले त्यहीँबाट जितेका थिए। माओवादी केन्द्रमै हुँदा साह तीन पटक मन्त्री भएका थिए। २०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनी ओली सरकारको मन्त्री बनेका थिए।

माओवादी केन्द्र र एमालेको एकतालाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएपछि साहले एमाले रोजे। एमाले रोजेकै कारण माओवादी केन्द्रले उनको सांसद पद खारेज गरेको थियो।

एमालेको दसौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका साहले रौतहट क्षेत्र नं ३ को लागि पार्टीबाट टिकटसमेत पाएका थिए। तर उनले पार्टीबाट पाएको टिकट आफैंसँग राखेर स्वतन्त्र उमेदवारी दिएका हुन्। मधेस प्रदेश र विशेषगरी रौतहटको निर्वाचनमा प्रभाव पार्न सक्ने भएकाले माओवादी केन्द्रले उनलाई समर्थन गर्न सक्ने बताइएको छ।

स्वतन्त्र उम्मेदवार बनेका साहले चापाकल चुनाव चिन्ह पाएका छन्।

Related posts

सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

MadhesKhabar

चुनावी तालमेलका लागि एमालेसंग वार्ता गर्न लाेसपाले बनायाे समिति

MadhesKhabar

पर्सामा जसपा–एमाले गठबन्धन जिताउन संयुक्त महिला परिचालन समिति गठन

MadhesKhabar

Leave a Comment