Madhes Khabar
राष्ट्रिय हेडलाइन

बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो , घाइते २० जनालाइ भरतपुर पठाइयो

फोटो : बलराम पुडासैनी

मधेसखबर
वीरगन्ज,२० असोज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्ज स्थित तीन नम्बर पुलमा बिहीबार विहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम श्रेष्ठले दिएको जानकारी अनुसार चितवन पठाइएका एक जना घाइतेको मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको हो । यसअघि १५ जनाको मात्रै मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो ।
घटनास्थलमै ८ जनाको मृत्यु भएको र उपचारको लागि हेटौंडाको चुरेहिल अस्पतालमा लगिएको ९ जनामध्ये २ जनाको मृत्यु भएको हो। उपचारको क्रममा ४ जना घाइतेको हेटौंडा अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

हेटौंडाकै सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये १ जनाको मृत्यु भएको हो भने चितवन पठाइएको १ जना घाइतेको पनि मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। मृतक सबैको सनाखत हुन बाँकी छ।

नारायणगढबाट वीरगन्ज तर्फ आउाँदै गरेको बा०६–००१ ख ०११० नम्बरको बस जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्ज स्थित तीन नम्बर पुलमा सडकबाट खोलामा खसेको थियो। बसमा ५० जना सवार थिए ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा परी घाइते भएका २० जनालाई हेटौंडाको विभिन्न अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि चितवनको भरतपुर पठाइएको छ।

वीरगन्ज महानगरपालिका १६ निवासी अन्दाजी २२ वर्षीय रविना चौरसिया, त्यही स्थानका अन्दाजी २५ वर्षीय सन्दीप चौरसिया, ४० वर्षीया लक्ष्मीदेवी चौरसिया, ६२ वर्षीया मालती चौरसिया, ११ वर्षीय देवी आयान चौरसिया, प्रिन्स चौरसिया र ७ वर्षका दिपेश चौरसियालाइ उपचारका लागि भरतपुर पठाइएको हो ।

यस्तै हेटौंडा उपमहानगरपालिका–१४ का १४ वर्षीय अमृत लोप्चन, त्यही ठाउँका अन्दाजी १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरहनी ८ का अन्दाजी ५४ वर्षीय भीमसेन अधिकारी, खैरहनीकै अन्दाजी ३८ वर्षीय रविना अधिकारी, हेटौंडा–१४ चुरियामाइ बस्ने अन्दाजी ३४ वर्षकी ठुलीमाया स्याङ्तान, ३५ वर्षकी मञ्जुकुमारी लोप्चन, हेटौंडा–७ का १७ वर्षीय सोनिया श्रेष्ठ, बाराको जीतपुर–सिमरा–२२ बस्ने अन्दाजी ११ वर्षका शिशिर विक, हेटौंडा–१४ का अन्दाजी १५ वर्षीय प्रशान्त स्याङ्तान, चितवनका २० वर्षीय आयुस बास्तोला, हेटौंडा ८ बस्ने १७ वर्षीय सलमान आलम, सोही ठाउँका अन्दाजी १५ वर्षीय सवनम खातुन र हेटौंडा उपमहानगर–१४ निवासी अन्दाजी ७ वर्षीय सुविना घिसिङलाई पनि उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।साभार : अन्नपूर्णपोष्ट

Related posts

एसिया कपमा भारत र पाकिस्तासंग भिड्ने नेपाली टिमको घोषणा

MadhesKhabar

रामचन्द्र पौडेल बने गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति : कामु प्रधानन्यायाधीश कार्कीबाट लिए शपथ

MadhesKhabar

प्रदीप यादवकाे लाेकप्रियता बढ्दै : जनमत पार्टीका वडाध्यक्ष उम्मेदवार ठाकुर जसपा प्रवेश

MadhesKhabar

Leave a Comment