
बारा,१०माघःमृगौला (किड्नी) फेल भएका बिरामीको उपचारका लागि भारतीय दूतावासबाट प्राप्त भएका ६ वटा ‘हेमोडायलाइसिस’ मेसिन एक वर्षदेखि थन्किएका छन् । बाराको महागढीमाई र सिम्रौनगढ नगरपालिकालाई भारतीय दूतावासले स्वास्थ्य मन्त्रालय मार्फत अनुदान स्वरुप उपलब्ध गराएका तीन÷तीन वटा हेमोडायलाइसिस मेसिन जनशक्ति र पूर्वाधार अभावमा थन्किएका हुन् ।
भौतिक पूर्वाधार, जनशक्ति, बजेट अभावले मेसिन सञ्चालनमा ल्याउन नसकेको सिम्रौनगढ नगरपालिकालका स्वास्थ्य शाखाका कर्मचारी जयनारायण यादवले बताए । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाबाट यादवले १४ लाख ६४ हजार १ सय ६८ रुपैयाँ दरका ३ वटा मेसिन २०८० असोज ५ मा बुझेका थिए ।
महागढीमाई नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी अजय सिंहले उस्तै खालका ३ वटा मेसिन २०८० मंसिर १५ गते बुझेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका औजार उपकरण स्टोरका प्राविधिक रणबहादुर घर्ती मगरले बताए । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको पालामा भारतीय दूतावासले दिएका डायलाइसिस मेसिन हस्तान्तरण गरिएको थियो ।
मगरका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा मेसिन प्रयोग गर्ने प्रतिबद्धताका साथ ती दुबै पालिकामा ८७ लाख ८५ हजार १० रुपैयाँ पर्ने (प्रति मेसिन १४ लाख ६४ हजार १ सय ६८) ३÷३ वटाका दरले ६ वटा मेसिन हस्तान्तरण गरिएको थियो । मेसिन प्रयोगमा ल्याउन ताकेता भइरहेको र प्रयोग नगरे फिर्ता मगाइने उनले बताए । ‘अहिलेसम्म सञ्चालन गर्ने इच्छुक नभएको जानकारी पाएको छु । अब भने फिर्ता नै मगाउन सकिन्छ,’ उनले भने । डायलाइसिस मेसिन सञ्चालनका लागि छुट्टै कोठा, नर्ससहित ३ जना तालिम प्राप्त जनशक्ति आवश्यक हुन्छ ।
‘मेसिन कोठाको कुनामा थन्किएको छ । मुसाले काट्यो कि एक्स्पाएर भयो थाहा छैन्,’ एक स्वास्थ्यकर्मीले भने, ‘माकुराले जालो लगाइसकेको र धूलो परिरहेको छ ।’ दुवै नगरपालिकाले डाइलाइसिस सेवा सञ्चालनका लागि न बजेट छुट्याएको छ, न प्राविधिक जनशक्ति नै तयार गरेको छ । सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरले नगरभित्र १२ जना मिर्गौला पीडितले संघीय सरकारबाट मासिक ५ हजार सहयोग पाउने गरेको बताए ।
महागढीमाई नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मनोज चौरसियाले नगरभित्रका २० जना मिर्गौला पीडितले ५ हजारका दरले सरकारी सहायता पाइरहेको बताए । ‘बिरामीले नगद सहयोग त पाएकै छन् । अझ आफ्नै पालिकामा डायलाइसिस सेवा लिन पाए सहज हुने थियो,’ चौरसियाले भने, ‘मेसिन आएर पनि संचालनमा ल्याउन नसक्दा सेवा दिन सकिएको छैन । अब चाँडै सञ्चालनको तयारी भइरहेको छ ।’
यी दुबै पालिकाको तथ्यांकमा ३२ जना मिर्गौला पीडितले डायलाइसिस सेवा लिइरहेका छन् । उनीहरु अहिले सदरमुकाम कलैया, वीरगन्ज, भरतपुर, काठमाडौंसम्म पुगेर डायलाइसिस गराउन बाध्य छन् । मधेसमा ग्रामीण क्षेत्रका मिर्गौला पीडितलाई डायलाइसिसन सुविधा पुर्याउन दूतावासमार्फत प्राप्त मेसिन वितरण गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गतका व्यवस्थापन महाशाखाका निर्देशक डा. पबमजंग रायमाझीले बताए ।
डायलाइसिस सेवा संचालन गर्न तालिम प्राप्त चिकित्सक, नर्स र प्राविधिक जनशक्ति आवश्यक हुन्छ । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले डाइलाइसिस सेवा सञ्चालनमा ल्याउन अझै ६/७ महिना लाग्न सक्ने बताए । मेसिन संचालनका लागि कोठाको व्यवस्था गर्न समय लाग्ने भएकाले तत्काल प्रयोगमा ल्याउन नसकिएको उनले बताए ।
‘तालिम गराएर जनशक्ति तयार गरिसकेका छौं,’ उनले भने, ‘मेसिन जडान गर्न अर्को नयाँ भवन नै बन्दैछ, त्यसैमा बन्दोबस्त गर्छौ ।’ महागढीमाईमा प्राप्त मेसिन नगरपालिकाको बरियारपुर स्वास्थ्य चौकीमा राखिएको छ ।
सिम्रौनगढ नगरपालिकाका मेयर किशोरीप्रसाद कलवारले नगर अस्पतालमा यहीँ माघभित्र डायलाइसिस सेवा सञ्चालनमा ल्याउने दाबी गरे । उनले भने, ‘एमबीबीएस, नर्स र अन्य कर्मचारी भर्ना गर्ने प्रक्रियामा छौं । माघमै संचालन गर्ने तयारी छ ।’ डाइलायसिस सञ्चालन गर्न नर्सिङ महाशाखामार्फत तालिम लिनु पर्ने हुन्छ । मेयर कलवारले माघभित्रै संचालनमा ल्याउने दाबी गरे पनि तालिम प्राप्त जनशक्ति तयार हुन कम्तिमा पनि ४ देखि ५ महिना लाग्ने स्वास्थ्यकर्मी बताउँछन् । लक्ष्मी साह/कान्तिपुर
तस्बिर ः कान्तिपुर