Madhes Khabar
राजनीति

समानुपातिकमा शेखर समुहलाई सम्मानजनक हिस्सा दिन देउवा तयार

फाइल फाेटाे

मधेसखबर
वीरगन्ज ,१२ असाेज : समानुपातिक उम्मेदवारको सूचीमा डा शेखर कोइराला पक्षलाई ‘सम्मानजनक हिस्सा’ दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएका छन्।

मंगलबार साँझ र बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले सबै पक्ष समेटिने गरी समानुपातिक सूचीमा हेरफेर गर्न तयार रहेको बताए। निर्वाचन आयोगले दलहरुले पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा हेरफेर गर्न असोज १४ गते सम्मको समय निर्धारण गरेको छ।

बुधबारको पदाधिकारी बैठकमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनबीच तालमेल हुँदा कांग्रेसले पाउने सिटको विषयमा पनि आज (बुधबार) टुंगोमा पुगिने र समानुपातिक उम्मेदवारको सूचीमा पनि हेरफेर गरिने बताए।

समानुपातिकको बन्दसूची पेस गर्दा प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले भेदभाव गरेको तथा आफूहरुलाई पेलेको भन्दै कांग्रेसमा इतर पक्ष (नेता कोइराला पक्ष)ले आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेको थियो। कोइराला पक्षका नेताहरुले आफूहरुले ४० प्रतिशत भाग पाउनुपर्ने भन्दै आन्दोलनको घोषणा गरेका थिए।

कोइराला पक्षले घोषणा गरेको आन्दोलनअनुसार इतर पक्षका नेता/कार्यकर्ताले बुधबारदेखि पार्टी मुख्यालय सानेपामा धर्ना दिँदैछन्।

कांग्रेसका संस्थापन इतर पक्षका नेताहरुले पार्टी नेतृत्वसँगै आफूहरुमाथि भएको ‘अन्याय’बारे गठबन्धनका शीर्ष नेताहरुको समेत ‘ध्यानाकर्षण’ गराएका थिए।

गठबन्धनका नेताहरुको व्यवस्थापनका कारण आफूहरुको राजनीति ‘दाउ’मा पर्न गएको भन्दै इतर पक्षका नेताहरुले गठबन्धनका अरु नेतालाई पनि चुनावमा जित निश्चित छ भनेर ढुक्क नहुन चेतावनी दिएका थिए।

त्यसपछि गठबन्धनका शीर्ष नेताहरुले पनि प्रधानमन्त्री देउवालाई पार्टी भित्रको विवाद मिलाउन दबाब दिएका थिए। पार्टी भित्र र बाहिर (गठबन्धनका नेता)बाट समेत दबाब आएपछि देउवाले पदाधिकारी बैठक राखेर विवाद मिलाउने प्रयास थालेका हुन्।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले समानुपातिक उम्मेदवारको सूची पेस गर्ने सन्दर्भमा भएको कमजोरी सच्याउन पार्टी सभापतिबाट प्रतिबद्धता व्यक्त भएको बताए। असन्तुष्टि राख्ने नेताहरुसँग पनि देउवाले आफू छलफल गर्न तयार रहेको भनेर बैठकमा जानकारी गराएको पाण्डेले बताए।

‘पार्टी भित्रको विवाद बसेर, छलफल गरेर मिलाउन सकिन्छ। अहिले आन्दोलन घोषणा गरेर विभाजित हुनु हुँदैन भन्ने उहाँ (देउवा)को भनाइ छ,’ पाण्डेले भने।

समानुपातिक सूचीमा प्रधानमन्त्री पत्नि आरजु राणा देउवा, गृहमन्त्री तथा देउवानिकट नेता बालकृष्ण खाणकी श्रीमती मञ्जु खाण, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार लगायतलाई प्राथमिकता दिएर राखिए पनि इतर पक्षका पुराना क्रियाशील तथा शीर्ष नेताहरुलाई पनि सूचीमा पछि पारेको भन्दै शेखर पक्षका नेताहरुले बैठकमा असन्तुष्टि जनाएका थिए।

देउवाले तत्कालीन समयमा आयोगमा सुची बुझाउन हतार भएका कारण धेरै कुरा नमिलेको, अब सच्चाउँदा मिलाएर लैजाने जवाफ दिएका थिए।साभार: नेपालप्रेस

Related posts

मधेसमा ७ दलकाे धर्ना जारी: मुख्यमन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने अडान कायमै

MadhesKhabar

मधेस आन्दोलनमा मारिएकाहरुलाई अझै शहिद घाेषणा गरिएन : महन्थ ठाकुर

MadhesKhabar

मुख्यमन्त्री राउतको राजीनामा बारे उपेन्द्र यादवले बोली फेरे

MadhesKhabar

Leave a Comment