मधेसखबर
वीरगन्ज,०१ भदौ :सरकारले विलासिताका १० वस्तुको आयातमा रोक लगाउने निर्णय लिनु अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भएका मालवस्तु भित्र्याउन पाइने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो निर्णय गरेको हो । यससँगै भन्सारमा रोकिएका ९ सय गाडीको जाँचपास खुला हुने भएको छ ।
मन्त्रालयका अनुसार १३ वैशाख २०७९ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भएको हकमा मालवस्तु पैठारी गर्न बाधा नपर्ने निर्णय भएको छ । करिब पौने ५ अर्ब रुपैयाँ बराबरको नयाँ गाडीहरु भन्सारमा रोकिएका छन् ।
व्यवसायीले विभिन्न मुलुकबाट आयात गरेर भैरहवा र वीरगन्ज नाकामा ल्याइपुर्याइएको सवारी साधन वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना संशोधन नगरेका कारण रोकिएका थिए । भन्सार नाकामा ९ सय हारहारी कार र जीप अलपत्र रहेको व्यवसायीले बताएका छन् । व्यवसायीले राजपत्रमा प्रकाशित त्रुटि सच्याउन माग गर्दै आइरहेका थिए ।
सरकारले स्वदेशी ढुकुटीमा डलर सञ्चिति घटेको भन्दै १३ वैशाखमा विलासी र महँगा गाडीसहित १० प्रकारका वस्तु आयात असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो । जसमध्ये १६ वटा फरक हार्मोनाइज कोडका कार, जीप र भ्यानहरु पनि प्रतिबन्धमा परे । तर, सोही राजपत्रले १३ वैशाख अघि नै बैकिङ प्रक्रिया पूरा गरेका यस्ता सवारी साधनहरुलाई आयात गर्न नरोकिने उल्लेख गरेको थियो ।
सरकारले १३ वैशाखको प्रतिबन्धलाई १४ भदौसम्म लम्ब्याउन भन्दै केही संशोधनसहित ३२ असारमा नयाँ राजपत्र जारी गर्यो । उक्त राजपत्रमा पुरानो आयात प्रतिबन्धलाई यथावत राख्दै आयातमा थप कडाइ गरेको थियो । नयाँ राजपत्रले १३ वैशाख अघि एलसी खोलेको सवारीको आयात गर्न दिने नदिनेबारे स्पष्ट नबोलेका कारण आयात भएका गाडीहरु भन्सारमै रोकिएका थिए । साभार : अनलाइनखबर