मधेसखबर
वीरगन्ज,३० साउन : वीरगन्जमा किसानले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट चार ट्रक युरिया मल कब्जामा लिएपछि देशका १६ जिल्लामा मलको आपूर्ति ठप्प भएको छ।
नेपाल सरकारले ग्लोबल टेन्डर मार्फत ओमानबाट खरि गरि ल्याएको युरिया मल वीरगन्ज स्थित कम्पनीको प्रादेशिक कार्यालयले आइतबार बिक्री वितरणका लागि विभिन्न जिल्लामा पठाउने क्रममा वीरगन्जका मेयर राजेशमान सिंह सहित किसानहरुको समुहले चार ट्रक मल कब्जामा लिएका थिए।
वीरगन्जका किसानलाई प्रयाप्त मल उपलब्ध नगराए सम्म यहाँबाट अन्य जिल्लामा मल लैजान नदिने उनिहरूको अडान छ । त्यहि कारण विदेशबाट वीरगन्ज ल्याइसकेको युरिया मल अन्य जिल्लामा पठाउन नसकिएको कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चौलागाईले बताए।
उनले भने, वीरगन्ज स्थित कम्पनीको ३ वटै गाोदाममा असुरक्षाका कारण आइतबारै देखि प्रहरीको पहरा दिएर राखेका छौ । उनले वीरगन्जका मेयर स्वयंले मागे जति मल यहाका किसानले नपाए १ बोरा मल पनि अन्य जिल्लामा पठाउन दिदैनौ भनेर अडान राखेकाले असुरक्षाका कारण १६ जिल्लामा मल पठाउन नसकिएको बताए।
चौलागाईले भने, वीरगन्ज महानगरका किसानका लागि हामीले २७ सय बोरा मल छुट्टयाएका छौ तर यहाका किसान र मेयरले कम्तीमा पनि १० हजार बोरा मल चाहिन्छ भनेर अडान लिएका छन्।कुन जिल्लामा कति मल वितरण गर्ने भन्ने कोटा निर्धारण गर्ने अधिकार कृषि मन्त्रालयको प्राविधिक समितिलाई मात्र भएकोले आफुले वीरगन्जका लागि मलको कोटा थप्न नसक्ने उनले प्रष्ट पारे।
वीरगन्जका मेयर र किसानहरुको अवरोधका कारण अन्य १५ जिल्लाका किसान मल पाउनबाट बन्चित भएको कम्पनीका महानिर्देशक राजेन्द्र बहादुर कार्कीले बताए।
उनले भने,एक त १२० दिनमा आइ पुग्नु पर्ने मल हामीले अथक प्रयास गरेर २८ दिनमै ल्याइ पुर्यायौ किसानले छिट्टै पाउन भनेर आइतबार देखि जिल्ला जिल्लामा पठाउन शुरु गरेका थियौं तर विरगन्जकस मेयर र किसानले मलको ट्रक नै कब्जामा लिए, उनिहरूको अवरोधले अन्य जिल्लाका किसानले पनि दुख पाइरहेका छन्।
उनले आइतबार वीरगन्ज स्थित कम्पनीको गाोदामबाट महोतरीका लागि २ , पर्बतका लागि १ र रौतहटका लागि १ ट्रक मल पठाउने क्रममा मेयर राजेशमान सिंह सहितका किसानहरुले कब्जामा लिएर बालमन्दिरको प्रांगणमा राखेको बताए।
उनले भने, अन्य जिल्लामा पठाउनका लागि वीरगन्ज स्थित गोदाममा ट्रक र ट्याक्टरमा मल लोड गरेर राखिसकेका छौ तर वीरगन्जका मेयर सहित त्यहाँका किसानले मागे जति मल नपाउँदा सम्म १ बोरा मल पनि अन्यत्र पठाउनै दिन्नौ भनेका छन्, तर मलको कोटा निर्धारण गर्ने अधिकार मन्त्रालयको प्राविधिक समितिलाई मात्र छ ।
नेपाल सरकारले विदेशबाट खरिद गरि आयात गरेको मल ,
वीरगन्ज स्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयले मधेस प्रदेशका ८ जिल्लाका साथै काठमाडौं, चितवन, पर्बत, नुवाकोट, कास्की, धादिङ , मकवानपुर लगायत १६ जिल्लामा वितरण गर्दै आएको छ।
ओमानबाट खरिद गरिएको कुल ३० हजार मेट्रिक टन युरिया मल मध्ये १० हजार मेट्रिक टन ( २ लाख बोरा) मल वीरगन्ज स्थित कृषि सामग्री कम्पनीको गोदाममा आइपुगेको छ । बिहीबार थप २५ सय मेट्रिक टन (५०हजार बोरा ) युरिया मल आइपुग्ने कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चौलागाईले जानकारी दिए।