वीरगन्ज,२९कात्तिकःवीरगन्जमा आयोजित मधेस प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगितामा सप्तरी जिल्लाको टिम प्रथम भएको छ ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेस प्रदेश समितिले होटल क्लासिक ब्यांकेटमा आयोजना गरेको प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगितामा सप्तरी प्रथम, महोत्तरी दोस्रो र धनुषा तृतीय भएको छ ।
मधेस प्रदेशका ८ वटै जिल्लाका विद्यार्थीहरुले भाग लिएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका जिल्लाका विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश अध्यक्ष डा. नन्दन यादवको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले यस्ता शैक्षिक प्रतियोगिताले विद्यार्थीको ज्ञान, नेतृत्व र आत्मविश्वासलाई मजबुत बनाउने उल्लेख गरे।आजको प्रतिस्पर्धा केवल अंक र स्थानको लागि मात्र नभई ज्ञानको प्रकाश फैलाउने यात्राको एउटा महत्वपूर्ण चरण भएको भन्दै उनले विद्यार्थीहरूमा जाँगर, क्षमता र प्रतिस्पर्धात्मक आत्मविश्वास देखेर खुशी लाग्ने गरेको बताए । उनले विद्यालय, शिक्षक तथा अभिभावकलाई यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरे।
कार्यक्रममा नेशनल प्याब्सनका पूर्व राष्ट्रिय अध्यक्ष पाण्डव हमाल, केन्द्रिय वरिष्ठ उपाध्यक्ष बजेन्द्र मिश्र, केन्द्रिय सदस्यहरू छेडुप लामा, रामबाबु सिंह, प्रदेश सचिव जितेन्द्र प्रसाद गुप्ता, पर्सा जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, महानगर समितिका नगर अध्यक्ष सोनालाल पटेल, लालबहादुर गुरुङ लगायतको पनि उपस्थिति रहेको थियो।

