वीरगन्ज,११पुसःवीरगन्जस्थित नारायणी अस्पतालमा बिग्रिएर वर्षौदेखि प्रयोगमा नआई थन्किएका उपकरण र औजारहरु राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिने भएको छ ।
नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा भेन्टिलेटर,मनिटर,फोटोथेरापी मेसिन,एक्सरे मेसिन,इसिजि मेसिन,डायलोसिसि मेसिन,पल्स अक्सिमिटर,सक्सन मेसिन,बेबी वार्मर,अडियोग्राम,एन्स्थेसिया मेसिन,ल्याबकुली मेसिन लगायतका करिब ४ करोड रुपैयाँ भन्दा बढी मूल्यका उपकरण र औजारहरु बिग्रिएर वर्षौदेखि थन्किएका छन् ।
ती उपकरण र औजारहरु महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिने भएको नारायणी अस्पतालको विकास समितिका अध्यक्ष धिरज गुप्ताले जानकारी दिए ।
अध्यक्ष गुप्ताका अनुसार,अस्पतालका उपकरण र औजारहरु मर्मतका लागि बिहीबार अस्पताल प्रशासन र केन्द्रबीच लिखित सम्झौता गरिएको छ ।उक्त सम्झौतापत्रमा अस्पताल प्रशासनका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास र केन्द्रका तर्फबाट बायोमेडिकल ईन्जिनियर उमेश किरान्तले हस्ताक्षर गरेका छन् ।
अध्यक्ष गुप्ताका अनुसार, बिहीबार भएको सम्झौतापत्रमा अस्पतालमा बिग्रिएर थन्किएका उपकरण र औजारहरु मर्मतका लागि केन्द्रका तीन जना ईन्जिनियरसहितको टोली खटिने उल्लख छ ।त्यसबापत केन्द्रलाई अस्पताल प्रशासनले सुरुको एक हप्ताका लागि १ लाख ५० हजार रुपैयाँ शुल्क तिर्ने र एक हप्तामा काम नसकिएमा त्यसपछिको प्रति दिन १५ हजार रुपैयाँ दरले अस्पतालले केन्द्रलाई दिने सम्झौतापत्रमा उल्लेख छ ।
उपकरण र औजारहरु मर्मतका क्रममा आवश्यक पर्ने स्पेयर पार्ट्सका सामान भने अस्पताल प्रशासनले बजारबाट खरिद गरेर केन्द्रलाई उपलब्ध गराउनु पर्ने सम्झौतापत्रमा उल्लेख रहेको अध्यक्ष गुप्ताले जानकारी दिए ।
केन्द्रका बायोमेडिकल ईन्जिनियर किरान्तले अस्पतालमा बिग्रिएर थन्किएका उपकरण र औजारहरु आँफुहरुले मर्मत गरी पुन प्रयोगमा ल्याउन सक्ने अवस्थामा पुरयाएर अस्पताललाई हस्तान्तरण गरिने बताए । त्यसका लागि बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे लगत्तै केन्द्रको प्राविधिक टोलीले बिग्रिएका उपकरण र औजारहरुको अवस्था र लगत संकलनको काम सुरु गरिसकेको उनले जानकारी गराए ।