Madhes Khabar
स्वास्थ्य

कोरोना :नेपालमा फेरि खतराको घण्टी ,दुइ दिनमा दुइ जनाको मृत्यु

फाइल फोटो

मधेसखबर
वीरगन्ज,०३साउन: नेपालमा कोरोना संक्रमणका कारण दुई दिनमा दुई जनाले ज्यान गुमाएका छन् ।

करिब अढाई महिनामा कोरोना मृत्यु शून्य रहेकामा पछिल्लो दुई दिनमै संक्रमणका कारण दुई जनाको मृत्यु भएको हो । मृत्यु भएका संक्रमितमा दीर्घरोग पनि नभएको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका दुवै जनाले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । यसअघि गत वैशाख २१ मा एक जनाको मृत्यु भएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार मृत्यु भएकी ५६ वर्षीया महिला र सोमबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा दीर्घरोगको समस्या नरहेको र दुवैले कोरोनाविरुद्ध खोप नलगाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनीहरूमा निमोनिया रहेको पाइएको छ । ‘खोप नलगाएकाहरू वा पूर्ण मात्रा नलिएकामा संक्रमणपछि स्वास्थ्य जटिलतासमेत देखिएको छ,’ डा. अधिकारीले भने ।

 

नेपालमा कोरोनाको चौथो लहर प्रवेश गरेसँगै संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । सोमबार पीसीआर र एन्टिजेन गरी ४ हजार ६ सय ५१ नमुना परीक्षण गर्दा ९.८२ प्रतिशत अर्थात् ४ सय ५७ जनामा कोभिड संक्रमण देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको छ । आइतबार ३ हजार ४१ कुल परीक्षणमा १ सय ३५ जना अर्थात् ४.४३ प्रतिशतमा संक्रमण पुष्टि भएकामा सोमबार दोब्बरले संक्रमण वृद्धि भएको हो । असार २८ गते संक्रमणदर ५.६६ रहेकामा साउन २ गते यो दर बढेर ९.८२ पुगेको छ ।

निकै संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति ‘बीए.५’ का कारण पनि संक्रमण तीव्र रूपमा फैलिरहेको विज्ञहरू बताउँछन् । यो भेरिएन्ट अहिलेसम्मकै कोरोना भेरिएन्टमध्ये छिटो फैलिने भनिएको छ । विज्ञहरूका अनुसार घाँटी दुख्ने, जीउ दुख्ने, थकित हुने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, ज्वरो आउने, गन्ध र स्वाद थाहा नपाउने, पसिना आउनेलगायत बीए.५ का लक्षण हुन सक्छन्, जुन फ्लुसँग पनि मिल्दोजुल्दो छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बीए.५ भेरिएन्टलाई ‘अल्ट्राफास्ट भेरिएन्ट’ भन्न सकिने बताए । ‘हालको संक्रमण अवस्था ‘ब्रेक थ्रु इन्फेक्सनको लहर’ जस्तै हो । तथ्यांकअनुसार ७० प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । खोप लगाएकालाई पुनः संक्रमण भइरहेको छ, जसलाई हामी ‘ब्रेक थ्रु केस वा इन्फेक्सन’ भन्छौं,’ उनले भने ।

यो भेरिएन्ट छिटो फैलिए पनि तुलनात्मक रूपमा अस्पताल भर्ना र मृत्युको जोखिमको ग्राफ एकदम कम हुने उनको भनाइ छ । बुस्टर डोजले धेरै हदसम्म जोखिम काट्दो रहेछ भन्ने देखिएकाले थप जोखिम रोक्न बुस्टर लगाउन जरुरी रहेको उनले बताए ।

तर, दीर्घरोगी र खोप लगाएका बूढापाका वा अन्यमा संक्रमणका कारण कस्तो जटिलता देखिन सक्छ भन्नेमा सरकारी स्वास्थ्य अधिकारीहरू नै प्रस्ट छैनन् । दीर्घरोगी, बूढापाका र खोप लगाएकाले पनि विशेष स्वास्थ्य सावधानी अपनाउन उनीहरूको सुझाव छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्क्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले संक्रमण बढेसँगै परीक्षण र प्रमुख नाकामा कडाइ गरिएको दाबी गरे । ‘जिन सिक्वेन्सिङ निरन्तर भइरहेको छ । सबैलाई राज्यले दिएको बुस्टर खोप र जनस्वास्थ्यका मापदण्ड पालना गर्नु अनुरोध गर्छु,’ उनले भने, ‘पछिल्लो समय खोप लगाएकामा पहिलेजस्तो जटिलता छैन । ज्वरो, शरीर दुख्ने, खोकी र पखाला जस्तो लक्षण देखिएको छ ।’

 

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले कोभिड उपचारका लागि सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताइन् । ‘मिडिया ब्रिफिङमा पनि जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्नुहोला भनिरहेका छौं । अक्सिजनको उपलब्धता राखिराख्न तथा प्रमुख नाकामा शंकास्पद नमुना जाँचमा बढी निगरानी गरेका छौं,’ उनले भनिन् ।

 

सोमबारसम्म कुल जनसंख्याको ७०.१ प्रतिशत अर्थात् २ करोड ४ लाख ६४ हजार ६ सय ३९ जनाले पूर्ण खोप लिएका छन् । ७०.४ प्रतिशत अर्थात् २ करोड ५ लाख ४८ हजार ४ सय ९४ जनाले एक मात्रा र २३.७२ प्रतिशत अर्थात् ६९ लाख २४ हजार ६ सय २१ जनाले अतिरिक्त खोप लिएका छन् । सरकारले हाल ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिइरहेको छ ।साभार  :कान्तिपुर

Related posts

नारायणी अस्पतालबाट १५ सय एचआईभी संक्रमितले निःशुुल्क उपचार सेवा लिदैं

MadhesKhabar

आशा किरण केन्द्रको वार्षिक उत्सवमा नेशनल मेडिकल कलेजसंग गरियो स्वास्थ्य उपचार सम्झौता

MadhesKhabar

वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा २९५ जनाले गरे रगतदान

MadhesKhabar

Leave a Comment