Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालबाट १५ सय एचआईभी संक्रमितले निःशुुल्क उपचार सेवा लिदैं

वीरगन्ज,३असार: एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ) नेपालको सहकार्यमा वीरगन्ज महानगरपालिकाको सभाकक्षमा स्थानीय/नगर परियोजना परामर्श समितिको बैठक सम्पन्न भएको छ । बैठकमा नारायणी अस्पतालमार्फत प्रदान गरिँदै आएको एचआईभी एड्स संक्रमितहरुको उपचार सेवाबारे जानकारी प्रस्तुत गरिएको थियो ।

बैठकमा एएचएफ नेपालकी एआरटी काउन्सिलर रोशनी सर्राफले प्रस्तुति दिँदै नारायणी अस्पतालको एआरटी सेन्टरमार्फत हाल १ हजार ५०१ जना एचआईभी संक्रमितले निःशुल्क उपचार सेवा लिइरहेको जानकारी दिइन् । उनका अनुसार नारायणी अस्पतालबाट सेवा लिने संक्रमितहरू पर्सा, बारा, रौतहट, मकवानपुर, सर्लाही र धनुषा लगायतका जिल्लासँगै सीमावर्ती शहर भारतका पनि रहेका छन् । एएचएफ नेपालको कार्यमा वीरगन्ज महानगरपालिकाले प्रयोगशालाको परीक्षणमा गरेको सहयोगप्रति पनि सर्राफले आभार प्रकट गरिन् ।

छलफलको क्रममा छिमेकी राष्ट्र भारतका संक्रमितको सेवा प्रवाहमा भइरहेको जटिलतालाई सहजीकरण गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । दुवै सीमाका सरोकारवालाको पहलमा उनीहरुलाई पनि उपचारको दायराभित्र ल्याउनुपर्ने निस्कर्ष बैठकले निकालेको छ ।

बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारले अझै पनि धेरै संक्रमित उपचारको पहुँचमा पुग्न नसकेको भन्दै सबै संक्रमितलाई सेवाको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए । नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै, कोही पनि उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले आवश्यक सबै प्रकारको सहयोग गर्ने बताए ।

नयाँ जीवन विकास सेवा समाजका एड्भोकेसी अफिसर जाबेद आलम पठानले उपचारको लागि भइरहेको भाइरल लोडको अभावलाई आफ्नो संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै उनले संक्रमित भएका बालबालिकालाई पनि प्रति महिना दुई हजार रुपैयाँ सहयोग प्रदान गर्दै आएको जानकारी गराए ।

यस अवसरमा एआरटी फोकल पर्सन डा. अतुलेश कुमार चौरसिया, नारायणी अस्पतालकी नर्सिङ प्रमुख श्रुति साह, वीरगन्ज महानगरपालिकाका कर्मचारी लगायतको सहभागीता रहेकाे एएचएफ नेपालका अंकित गुप्ताले जानकारी दिए । बैठकमा वार्षिक रूपमा परियोजनाको प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो ।

Related posts

नारायणगढ–मुग्लिन सडक आइतबार देखि बन्द नहुने

MadhesKhabar

वीर अस्पतालमा आँफुले अनुगमन गरेपछि उल्लेख्य सुधार भएको स्वास्थ्यमन्त्री यादवको दाबी

MadhesKhabar

प्रह्रलाद गिरी माथि कारबाही गर्न जनार्दन क्षेत्रीको माग

MadhesKhabar

Leave a Comment