
मधेसखबर
वीरगन्ज,२८असार : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले पार्टीमा उपेन्द्र यादवले एकलौटी गरेको आरोप लगाएका छन् ।
काठमाण्डौमा मङगलबार देखि आफनो पक्षको छुट्टै केन्द्रिय कार्य समितिको विस्तारित बैठक बोलाएका भट्टराईले बैठकमा बोल्दै उपेन्द्र यादव पक्षकै कारण पार्टी संकटमा गएको बताए ।
बैठकमा भट्टराईले भने ,‘पार्टीको केन्द्रीय समिति एकापट्टी छ , कार्यकारीणी अध्यक्षले बैठक नै बोलाउनु भएन , उहाँले परामर्श गर्नु नै भएन , उहाले एकलौटी गर्नुभयो ।’
भट्टराईले पार्टीको रुपान्तरण र पुनर्गठन अहिलेको आवश्यकता रहेको बताए । पार्टीलाई विभाजन गर्ने आफ्नो कुनै मनसाय नरहेको भट्टराईको भनाइ छ ।
भट्टराईले भने,’ यो पार्टी हामीले जन्माएको हो ,पार्टीको पुनर्गठन र रुपान्तरण हाम्रो मनसाय हो , वैधानिक ढंगले बैठक राख्न उपेन्द्र यादवलाई चुनौती दिन चाहन्छु ।
भट्टराईले वीरगन्जमा यादवले बोलाएको केन्द्रिय कार्यकारीणी समितिको बैठक स्थगन गर्न पनि यादवलाई सुझाव दिए ।

