Madhes Khabar
समाज

अर्केष्टाको दलदलमा नेपाली युवती

फाइल फोटो

मधेसखबर
वीरगन्ज,२७असार : गत जेठ ५ मा नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले सीमावर्ती भारत विहारको रक्सौल पलनवा सौना बजारमा काव्या अर्केस्ट्रा र पूजा म्युजिकल डान्स कम्पनीबाट आठ जना किशोरीको उद्धार ग¥यो ।

फागुन १५ मै उद्धारको काम भए पनि नाबालिकालाई अर्को देश फिर्ता पठाउने कानुनी प्रक्रियाका कारण उनीहरूलाई स्वदेश ल्याउन तीन महिना लागेको थियो । यसरी उद्धार गरिएकामध्ये १७ वर्षीया किशोरीको अवस्था नाजुक थियो । मानव बेचबिखनको संगठित समूहको गिरोहबाट बेचिएकी उनी बलात्कारको सिकार भईवरि ५ महिनाको गर्भवती भएकी थिइन् ।

सीमावर्ती भारतीय बजारका अर्केस्ट्राबाट नेपाली किशोरीको उद्धार गरिएको यो पहिलो घटना होइन । मानव बेचबिखन रोकथाममा सक्रिय गैरसरकारी संस्था माइती नेपाल, आफन्त नेपाल र साना हातहरूले अर्केस्ट्रामा चर्को श्रम शोषणमा परेका, बेचिएका र यौन हिंसामा परेका किशोरीको शृंखलाबद्ध उद्धार गरिरहेका छन् । माइती नेपालको वीरगन्ज आवधिक गृहले आर्थिक वर्ष २०७०÷७१ देखि अहिलेसम्म भारतका विभिन्न अर्केस्ट्राबाट ७१ किशोरीको उद्धार गरिसकेको छ । आफन्त नेपाल नामक संस्थाले भने पछिल्लो तीन वर्षमै ६४ किशोरी तथा महिलाको उद्धार गरेको छ । साना हातहरूले गत साउन यता वीरगन्ज नाका हुँदै भारतका अर्केस्ट्रामा गइरहेका सात नेपाली चेलीलाई रोकेर अभिभावको जिम्मा लगाएको छ ।

उद्धारको यो संख्याले नेपालको ग्रामीण क्षेत्रका किशोरी तथा महिलालाई विभिन्न प्रलोभनमा पारेर अर्केस्ट्रामा पु¥याइने क्रम निरन्तर चलिरहेको बुझाउँछ । यस्ता अर्केस्ट्राले विभिन्न तहमा रहेका एजेन्टमार्फत कम उमेरका नेपाली किशोरीलाई प्रलोभन देखाएर सीमापारि लैजाने गरेका छन् । यसरी पु¥याइएका किशोरीलाई रातभर चल्ने अर्केस्ट्रामा अश्लील गीत तथा बाजागाजाको तालमा नृत्य गराइन्छ । छोटा पहिरन लगाउने मात्र नभई दर्शकदीर्घाबाट उत्तेजित भई मञ्च उक्लने, मञ्चमै दुर्व्यवहार गर्ने, निर्वस्त्र भई नृत्य गर्न दबाब दिने गतिविधि पनि गर्छन् । कतिपय किशोरी भने अर्केस्ट्राकै सञ्चालकबाट समेत यौन हिंसामा परेको देखिन्छ ।

यस्तै हिंसामा परेकी थिइन्, झापा शरणामती–७ की १७ वर्षीया किशोरी । गरिबीका कारण बाआमाको सम्बन्ध बिग्रिएपछि छुट्टाछुट्टै बस्थे । काठमाडौंको सुन्धारास्थित एक रेस्टुरेन्टमा काम गर्ने फुपूकी छोरी राधा (परिवर्तित नाम) ले उनलाई रेस्टुरेन्टमा काम दिलाइदिने भन्दै काठमाडौं ल्याइन् । मासिक तलब थियो, १२ हजार रुपैयाँ । त्यहीं काम गर्ने एक किशोरीको संगतमा लोगर उनी रक्सौल सौना बजारको पूजा म्युजिकल डान्स कम्पनीमा पुगिन् । अर्केस्ट्रा चलाउने यो कम्पनीका सञ्चालक थिए, सुनसरीका विकास विक । विकासले किशोरीलाई अर्केस्ट्राको काममा मात्रै लगाएनन्, यौन शोषणसमेत गरे ।

०७३ मा माइती नेपालले भारतीय अर्केस्ट्राबाट उद्धार गरी ल्याएकी रौतहटकी २० वर्षीया अर्की युवती भने सञ्चालकबाटै गर्भवती भएकी थिइन् । उनको बच्चा जन्मिएपछि माइती नेपालले परिवारमा पुनःस्थापना गराएको थियो । प्रहरीका अनुसार अर्केस्ट्राबाट उद्धार गरिएका अधिकांश किशोरीले यौन दुर्व्यवहारमा परेको र चर्को श्रम शोषण गरिएको सुनाएका थिए ।

गत मंसिर २३ मा पनि माइती नेपालले नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयमा बिहारको छौडादानो बेलागाउँस्थित सुशीला एन्ड रिंकु अर्केस्ट्राबाट दुई नेपाली महिलाको उद्धार गरेको थियो । उनीहरू थिए, झापा बिर्ताबजारकी १९ वर्षीया रोशनी (नाम परिवर्तन) र उनकी भाउजु दीपिका (नाम परिवर्तन) । गरिबीसँग जुधिरहेका रोशनी ८ महिनाकी छोरी र दीपिका डेढ वर्षको छोरा बोकेर अर्केस्ट्रामा काम गर्न हिँडेका थिए । दुवैलाई जेठानी नाता पर्ने शान्ता (नाम परिवर्तन) ले नृत्य गर्ने कम्पनीमा काम दिलाएकी थिइन् ।

उनीहरू अर्केस्ट्रा पुग्दा अरू दुई नेपाली किशोरी पहिलेदेखि नै काममा संलग्न थिए । उनीहरूले आफूहरू अनेक यातना सहेर बसेको सुनाएपछि उनीहरू झस्किए । सुरुमै १०/१० हजार नेपाली रुपैयाँ बुझेकाले उनीहरू विवश थिए । स्टेजमा नाच्न जानेबेला काखे सन्तान अर्केस्ट्रा सञ्चालिका रुबीको जिम्मा लगाउने सहमति थियो । तर, उनीहरू नाच्न जाँदा रुबीले बच्चाहरूलाई न भनेको बेला खान दिन्थिन् न स्याहार नै गर्थिन् । भनेअनुसारको तलब नदिने र परिवारसँग सम्पर्क गर्न नदिन मोबाइल खोस्ने गरेपछि उनीहरू आत्तिए र बन्धक बनेको महसुस गर्दै त्यहाँबाट भागे । तर, रातभर हिँड्दा पनि नेपालको सीमा पहिल्याउन नसकेकै बेला सञ्चालिकाले नियन्त्रणमा लिई फिर्ता लगिन् ।

एक दिन अरूकै मोबाइलबाट घरमा फोन गरी रोशनीले आफूहरू अर्केस्ट्रा कम्पनीमा फसेको सूचना दिइन् । फसिने डर भएपछि शान्ता आफैं वीरगन्जस्थित माइती नेपाल आवधिक गृहमा पुगेर नन्द र देउरानीको उद्धार गर्न भन्दै निवेदन दिइन् । माइती नेपालले नेपाल प्रहरी र भारतीय प्रहरीसँग समन्वय गरी ०७८ मंसिर २३ मा रोशनी र दीपिकाको उद्धार गरेर वीरगन्ज ल्यायो । सञ्चालिका रुबीलाई भारतीय प्रहरीले पक्राउ गरेर कारबाही बढायो ।

०७८ भदौ ९ मा आफन्त नेपाल वीरगन्ज शाखा र पर्सा प्रहरीको टोलीले भारत बिहारको छौडादानोस्थित पायल अर्केस्ट्राबाट पनि सात नेपाली महिलालाई उद्धार ग¥यो । सोही अर्केस्ट्राबाट भदौ पहिलो साता किशोरीको उद्धार गरिएको थियो । उनीहरूलाई छौडादानो घर भएका विकास कुमार र नेपालको धनुषा नगराइन घर भएकी उनकी श्रीमती अजिमा खातुनले प्रलोभन देखाएर भारत लगेको खुल्यो ।

छौडादानोका अर्केस्ट्रा पु¥याइएका नेपाली महिलालाई सुरुमै मोबाइल खोसेर परिवारसँग सम्पर्क विच्छेद गराइन्छ । त्यसपछि चरम श्रम शोषण हुने गरी काममा लगाइन्छ । यस्ता अर्केस्ट्रा सञ्चालकमध्ये केहीले पाली एजेन्टसँग सम्पर्क राखेका हुन्छन् भने केहीले सामाजिक सञ्जालमार्फत नै सम्पर्क विस्तार गरेका हुन्छन् । उनीहरूले गाउँगाउँ छिरेर वा सामाजिक सञ्जालबाटै कमजोर आर्थिक अवस्था भएका, अभिभावकको संरक्षणमा नरहेका किशोरीलाई ललाइफकाई ओसार्छन्  ।

अर्केस्ट्रा सञ्चालक विकासकी श्रीमती अजिमाले भारतबाटै फेसबुक मार्फत साथी बनाएर नृत्यको काम गरे सिजनमा एक लाख रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाएकी थिइन्  । अजिमाले फरक–फरक मितिमा ती महिलालाई भारत लगेको खुलेको छ । श्रीमान् सहित अजिमालाई प्रहरीले गत भदौ १० गते वीरगन्ज–१६ इनर्वास्थित सीमाबाट नियन्त्रणमा लिएको थियो । उनीहरू माथि मानव बेचबिखन मुद्दामा अदालती कारबाही बढाइएको छ । बिहारको मोतिहारी स्थित सत्यम म्युजिकल अर्केस्ट्राबाट पनि २०७८ फागुन २ गते ५ नेपाली चेलीको उद्धार गरियो । उद्धार गरिएका ५ मध्ये ४ नाबालिक थिए । सञ्चालक शिवपूजनले दुई नेपाली चेलीलाई घरबाहिर आफ्नी पत्नी बनाएर राखेको पीडितहरूले बताएका छन् ।

अर्केस्ट्रामा पुगेका धेरै महिला तथा किशोरी पूर्वी नेपाल र केही मधेस प्रदेशका छन्  । माइती नेपालले उद्धार गरेकामध्ये सबैभन्दा बढी झापाका १७, मोरङ, सुनसरी र उदयपुरका ५/५, नवलपरासीका ३, धनुषा, सिन्धुली, नवलपुर, बारा, पर्साका २÷२, रूपन्देही, सर्लाही, ओखलढुंगा, दोलखा, काभ्रे, रौतहटका १÷१ जना छन् । अर्केस्ट्रामा नृत्य गर्न जाने आधाजसो १८ वर्षमुनिका र कतिपय नाबालिका छन् । उद्धार गरिएका ७१ मध्ये १८ वर्षमुनिका ४४ बालिका र १८–३५ उमेर समूहका २७ जना छन् । आफन्त नेपालले पनि ३ वर्षमा भारतबाट उद्धार गरी ल्याएका ६४ मध्ये १८ वर्षमुनिका ४१ र १८ वर्षमाथिका २३ जना छन् ।

अर्केस्ट्रा पु¥याइएका महिलामध्ये धेरैजसो दलित र जनजाति समूहका छन् । माइती नेपालले आथिृक वर्ष २०७०/७१ यता उद्धार गरेका ७१ मध्ये दलित १७ र जनजाति १५ थिए । आफन्त नेपालले उद्धार गरेका ६४ मध्ये दलित २१ छन् भने जनजाति २८ जना । आफन्त नेपालले उद्धार गरेका ६४ मध्ये मावि तहसम्म पढेका ५ र आधारभूत तहसम्म पढेका ५८ छन् । यी तथ्यांकले कमजोर आर्थिक र शैक्षिक पृष्ठभूमिका किशोरी तथा महिला अर्केस्ट्रा सञ्चालकको टार्गेटमा परेको देखिन्छ ।

आफन्त नेपाल वीरगन्ज शाखा प्रमुख विनोद खाती अशिक्षा र गरिबीकै कारण अधिकांश महिला बहकाउमा परेर जोखिमपूर्ण पेसा अपनाउन सीमापारि पुग्ने गरेको बताउँछन् । उद्धारमा सक्रिय संस्थाका अनुसार नेपाली चेलीलाई ललाइफकाई भारतसम्म लग्ने काममा तीन तहको समूह सक्रिय देखिन्छ । पहिलो समूह सामाजिक सञ्जालमा सक्रिय हुन्छ भने दोस्रो समूह भने किशोरी वा महिला संकलन गरेर नाकामा ल्याउने र तेस्रो समूहले सीमा कटाएर अर्केस्ट्रा समूहसम्म पु¥याउँछ । कतिपय अर्केस्ट्रा सञ्चालक आफैं नेपालका विभिन्न जिल्लामा आएर लामो समयसम्म बसेर किशोरी तथा महिला फकाउँदै समूहमा भेला गरेर एकैसाथ भारततर्फ लैजान्छन् । नेपालमा सक्रिय एजेन्टहरूमा धेरैजसो महिला नै हुने र उनीहरू प्रायः विगतमा अर्केस्ट्रामा नर्तकी पेसा अपनाएका पनि हुन्छन्  ।

जिल्ला प्रहरी कार्यालयका डीएससी प्रह्लाद कार्की अर्केस्ट्रालाई मानव बेचबिखनकै एउटा रूप मान्छन्  । ‘यो पक्कै पनि मानव बेचबिखनसँगै जोडिएको काम हो, यसमा लक्षित वर्ग विपन्न, कम उमेरका, कम पढेलेखेका र पारिवारिक साथ नपाएका चेलीबेटी बढी हुन्छन्,’ उनले भने, ‘उनीहरूलाई जे कुराको प्रलोभन र आश्वासन दिएर लगिन्छ, त्यहाँ त्यो पाउँदैनन्, बरु उल्टै शारीरिक र मानसिक शोषण भोग्न पुग्छन् ।’

घरमा हुने विवाह, व्रतबन्ध तथा अन्य उत्सवमा नृत्य गर्ने समूह नै अर्केस्ट्रा हो । रातभर चल्ने कतिपय अर्केस्ट्रामा अश्लील गीत तथा बाजागाजा प्रयोग गरिन्छ । नर्तक छोटा पहिरन लगाएर नाच्ने गर्छन् । नृत्य गर्नेमा स्थानीयभन्दा नेपाली र बंगाली बालिकाहरू बढी हुन्छन् । यस्ता नर्तकलाई सञ्चालकले रातदिन नचाउने, पारिश्रमिक नदिने, आफन्त परिवारसँग सम्पर्क गर्न नदिने, कुटपिट गर्ने, शरीरमा टोक्ने, चप्पलमा थुकेर चाट्न लगाउने, चुरोटले पोलिदिने, ज्यान मार्ने धम्की दिनेजस्ता अनैतिक क्रियाकलाप गर्दै बन्धक बनाएर राख्छन्  ।

अर्केस्ट्रा सञ्चालकले अर्डर लिँदा एक पटकको ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँ भारुसम्म लिन्छन् । यस्तो अर्डरलाई स्थानीय भाषामा ‘साटा’ भनिन्छ । नृत्य गर्नेले भने मुस्किलले २ देखि ३ हजार रुपैयाँ भारु पाउँछन् । सञ्चालकले अधिकांशलाई तय गरेको पारिश्रमिक पनि दिँदैनन् । एउटा अर्केस्ट्रा कम्पनीमा ५/६ जना महिला नर्तकी र कुनैमा एक पुरुष हुन्छन्  । पुरुष नर्तक प्रायः भारतकै हुन्छन्  । नृत्य गर्न उनीहरू भारत र कहिलेकाहीं नेपालका गाउँमा पनि पुग्छन् । विहारको आदापुर, भेलाही, छौडादानो, रक्सौल, रामगढवा, मोतिहारी क्षेत्रका पर्याप्त अर्केस्ट्रा छन् । यो खबर कान्तिपुरमा पत्रकार शंकर आचार्यले लेखेका छन् ।

Related posts

वीरगन्जको स्पर्श मल्टिस्पेशालिटी हस्पिटलमै बालिका बलात्कृत

MadhesKhabar

ठाकुरराम क्याम्पसमा अनेरास्ववियुको कार्यक्रममा ३३ जनाद्वारा रक्तदान

MadhesKhabar

कलैयामा चर्काे आवाजमा डिजे बजाउने व्यक्ति प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment