वीरगन्ज,०२साउनःचितवनको सिमलतालमा भएको बस दुर्घटनामा परि त्रिुशली नदीमा बेपत्ता भएको एन्जल डिलक्स बसका चालकको छोरा–छोरीको शिक्षाको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने भएको छ ।
गत शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता बनाएको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जेल डिलक्स बसका चालक जवाहीर महतोको नाबालक दुई छोरा र १ छोरीको शिक्षादिक्षाको जिम्मा वीरगन्ज महानगरपालिकाले लिने भएको हो ।
बससंगै त्रिशुली नदीमा बगेका वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३६ बर्षिय जवाहीरको अवस्था अझै अज्ञात छ । दुर्घटना भएको ६ दिन भइसक्दापनि उनिसंगै अरु ४८ जना फेला पर्न सकेका छैनन् ।
बुधबार बिहान नगवास्थित जवाहीरको घरमा पुगेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पिडित परिवारसंग भेटे । पिडित परिवारको पिडामा आँफुहरुसंगै रहेको बताउँदै मेयर सिंहले जवाहीरका दुई छोरा र एक छोरीको शिक्षादिक्षाको जिम्मा महानगरपालिकाले लिने बताए ।साथै उनले चालक जवाहीरको परिवारको जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेकोपनि बताए ।
जवाहीरका बृद्ध बुबा भगवान् महतोलाई सान्तवना दिदैं मेयर सिंहले भने,‘ तपाईहरुको पिडासंगै हामी छौं । जवाहीरजीका छोरा छोरीका पढाइलिखाईको जिम्मा महानगरले लिन्छ । अरु केहि सहयोग चाहिन्छ भने भन्नु होला । हामी सहयोग गर्छौ ।‘
बुबा भगवान्का अनुसार, २ छोरा, १ छोरी र श्रीमती रहेका जवाहीरले रात्रि बस चलाएर जिविकोपार्जन गर्दै आएका थिए । घरको मूली (जवाहिर) नै नरहेपछि परिवार विचल्लीमा परेको दुखेसो उनले मेयर सिंहसामु सुनाए ।
जवाहीरका शोकमग्न परिवारलाई भेटेपछि मेयर सिंहले उक्त दुर्घटनामा परेर बेपत्ता भएका वीरगन्ज महानगरका अरु दुई जनाको परिवारलाईपनि उनिहरुकै घरमै पुगेर बुधबार नै भेटेका छन् ।
शिक्षण अस्पताल काठमाडौंबाट बीएससी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका वीरगन्ज–१६ नगवामै बस्दै आएका अरबिन्द पणितका परिवारसंगपनि भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू सँधै रहेको बताए ।नगवाकै नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पणितको परिवारलाई पनि मेयर सिंहले भेट गरे । काठमाण्डौमा फर्निचरको काम गर्दै आएका उनी पनि एन्जल बसमै काठमाडौं गइरहेका थिए ।
भरतपुर महागनरपालिका वडा नंबर २९ सिमलतालस्थित सडकबाट गएको असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगन्बाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।

