
मधेसखबर
वीरगन्ज ,२३ फागुनः होलीमा कारोबार बढि हुने भएपछि वीरगन्जमा हरियो तरकारीको मुल्य अचाक्ली बढेको छ ।वीरगन्जको बजारमा तीन दिन पहिले सम्म सामान्य मुल्यमा खरिदबिक्री भइरहेको हरियो तरकारीको भाउ सोमबार देखि तेब्बरले बढेको छ ।
तराई–मधेसमा होलीमा माछा मासुका साथै हरियो तरकारीको पाकवान पनि बढि खाने चलन छ । त्यसमा पनि यसपालि मधेसमा होली पर्ब मङगलबार र बुधबार गरि दुई दिन मनाइदैछ । मधेसमा मङगलबारका दिन मधेसमा माछा मासु नखाने चलन रहेका कारण तरकारीको कारोबार बढि भएको छ । त्यहि कारण बजारमा हरियो तरकारी भाउ अचाक्ली बढेको हो ।
मङगलबार वीरगन्जको बजारमा फुल काउली खुद्रामा किलोको ८० देखि १०० रुपैयाको भाउमा खरिद बिक्री भएको छ । जबकी सोमबार फुल काउलीको भाय किलोको २५ देखि ३० रुपैयाँ मात्र थियो । यस्तै दुइ दिन मै मटर कोसाको भाउ किलोको १०० बाट बढेर २०० , करेला १२० बाट बढेर २०० , मूला ४० बाट बढेर ६० , भेन्टा ६० बाट बढेर १०० रुपैया पुगेको छ । यस्तै परवल किलोको २०० रुपैयाको भाउमा खरिदबिक्री भइरहेको छ । दुइ दिन पहिले किलोको ४० रुपैयामा पाइने गाजरको भाउ किलोको ८० रुपैया , ८० रुपैयामा पाइने हरियो खुर्सानी किलोको १२० रुपैयामा खरिदबिक्री भइरहेको छ ।
मिनाबजारमा मङगलबार तरकारी किन्दै गरेको अवस्थामा भेटिएकी वीरगन्ज १० आदर्शनगरकी रम्भा देवी साहले भनिन्‘ अस्ति (आइतबार ) मात्रै काउली किलोको ३० रुपैयामा किनेको थिए , तर आज पसलेले त्यहि काउलीको भाउ ८० रुपैया भन्दा शुरुमा त विश्वास नै लागेन ।
यसअघिका वर्षमा होलीमा माछा मासुको भाउ बढ्ने गरेकोमा यसपालि हरियो तरकारीको पनि भाउ दोब्बर तेब्बरले बढेको देख्दा अचम्म लागेको उनले बताइन् ।
गर्मी याम शुरु भएसंगै हरियो तरकारीको सिजन सकिन लागेकाले बजारमा आपुर्ति कम भएर भाउ बढेको व्यपारीहरुले बताए । यसका साथै पछिल्लो केहि साता यता भारतबाट हुने तरकारीको आयातमा वीरगन्ज नाकामा सुरक्षकर्मीले कडाइ गरेका कारण पनि त्यसको असर बजारमा परेको उनीहरुले बताए ।
वीरगन्जको मिनाबजारका तरकरी पसले रामभोला तुराहाले भने ,‘ पहिले नाकामा विना रोकटोक भारतबाट तरकारी आउथ्यो तर अहिले भन्सार(नाका) मै पुलिसले कडाइ गरेको छ , भन्सार राजश्व तिरेर ल्याउने हो भने अहिलेको भन्दा अझ मङगोमा बेच्नुपर्छ ।

वीरगन्जको बजार मौसमी र बेमौसमी हरियो तरकारीका लागि भारत माथि निर्भर रहदै आएको छ ।त्यस बाहेक पर्सा , बारा र मकवानपुरका ग्रामीण भेगबाट पनि तरकारी यहाको बजारमा आपुर्ति हुदै आएको छ ।
चाडपर्बमा माग उच्च हुने तर भारतबाट सहज रुपमा तरकारीको आयात नभएको र स्वदेशको उत्पादनले थेग्न नसकेका कारण अहिले मुल्य बृद्धिको समस्या देखिएको वीरगन्ज तरकारी तथा फलफुल व्यवसायी संघका सचिव सन्जय गुप्ताले बताए ।
तर यहाका उपभोक्ताले भने चाडबाडमा राज्यको निकायले बजारको अनुगमन नगरेका कारण व्यपारीले मनलाग्दी भाउ बढाएको गुनासो गरेका छन् ।वीरगन्ज ९ रानीघाटका अशोक चौधरी भन्छन्,‘ होलीमा माछा मासुको भाउ नियन्त्रित गर्न पुलिस प्रशासनको ध्यान जाने गरेको छ , बजार अनुगमन गरेको पनि सुनिन्छ तर होलीका बेला हरियो तरकारीको भाउ वा अनुगमन गरेको आज सम्म सुनेको छैन ।त्यहि भएर तरकारी व्यपारीहरुले चाडबाडका बेला अनुचित फाइदा उठाएर मनलाग्दी भाउ बढाउने गरेको चौधरीले बताए ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले भने चाडबाडका बेला बजारको माग र आपुर्ति बिच असन्तुलन हुदा मुल्य बढ्ने गरेको बताए । यद्यपि व्यपारीले अस्वभाविक मुल्य बुद्धि गरेको भेटिए कारबाही गरिने पनि उनले बताए । होलीमा तरकारी भन्दा पनि माछा मासुको खपत बढि हुने भएका कारण स्थानीय प्रशासनले नियमित रुपमा बजार अनुगमन गरिरहेको पनि उनले बताए ।

