
मधेसखबर
वीरगन्ज,१३ असार : नेपालमा पछिल्लो ११ महिनाको अवधीमा मात्रै १६ अर्ब रुपैया भन्दा बढि मुल्यको फलफुल आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार , चालु आर्थिक वर्षको ११ महिनाकोे अवधीमा १६ अर्ब रुपैयाँ भन्दा बढीको फलफूल विदेशबाट आयात भएको पाइएको छ । गत साउन देखि जेठ सम्म ११ महिनामा १६ अर्ब २१ करोड रुपैयाँभन्दा बढि रुपैयाको फलफुल आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
भन्सार विभागका अनुसार चालु आवको जेठ मसान्तसम्म ६ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँ बराबरको आठ करोड १५ लाख ३८ हजार चार सय २६ किलो स्याउ आयात भएको छ । त्यसबाट सरकारले ६३ करोड ५८ लाख ७८ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।
स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको तथ्याङ्कमा उल्लेख छ । चीनबाट मात्र पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट एक अर्ब १५ करोड ५९ लाख ८३ हजार, अमेरिकाबाट ४४ लाख १३ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट एक लाख ६१ हजार रुपैयाँबराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ ।
यस्तै चालु आवको जेठ मसान्तसम्म दुई अर्ब १९ करोड ५३ लाख ३५ हजार रुपैयाँ बराबरको तीन करोड २१ लाख ३१ हजार सात सय ९२ किलो अंगुर आयात भएको छ । त्यसबाट सरकारले ११ करोड ११ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ ।
नेपालले ११ महिनाको अवधिमा एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार बराबरको केरा आयात गरेको छ । चालु आवको जेठ मसान्तसम्म ६ करोड २१ लाख ६३ हजार नौ सय ८८ किलो केरा आयात भएको छ । त्यसबाट सरकारले १९ करोड १२ लाख तीन हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
विभागको विवरणअनुसार सुन्तलाको आयात पनि उस्तै छ । ११ महिनाको अवधिमा मात्रै एक अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँ बराबरको दुई करोड २८ लाख चार हजार एक सय ७३ किलो सुन्तला आयात भएको छ ।
त्यस्तै जेठ मसान्तसम्म एक करोड चार लाख ८४ हजार एक सय एक किलो अनार आयात भएको छ । त्यसका लागि एक अर्ब नौ करोड तीन लाख ९८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै खरबुजा एक करोड ९७ लाख ३९ हजार दुई सय ७७ किलो आयात भएको छ । खरबुजाको आयात मूल्य ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँ बराबर छ ।
भन्सार विभागका अनुसार चालु आवको ११ महिनामा २३ करोड ४० लाख दुई हजार रुपैयाँ बराबरको ६६ लाख ४४ हजार एक सय ६१ किलो मेवा आयात भएको छ । यस अवधिमा १५ करोड आठ लाख ३९ हजार रुपैयाँ बराबरको २१ लाख ९४ हजार एक सय ९९ किलो नास्पाती आयात भएको छ । अम्बा र आँप ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको आयात भएको छ । यस्तै तीन करोड ८७ लाख ६६ हजार रुपैयाँ बराबरको नौ लाख ९१ हजार दुई सय २८ किलो लिची आयात भएको छ ।

